मनोरंजन विदेश

भारतीय अभिनेता आसिफ बसराले गरे आत्महत्या

एजेन्सी, २७ कात्तिक-भारतीय अभिनेता आसिफ बसराले आत्महत्या गरेका छन् । भारतीय संचारमाध्यमका अनुसार ५३ वर्षीया बसराले हिमाचल प्रदेशको धर्मशालाको म्याक्लोडगन्जको क्याफे नजिकै आत्महत्या गरेका हुन् ।

समाचारमा जनाइअनुसार कुकुरलाई बाँध्न प्रयोग गर्ने डोरीले पासो लगाएर उनले आत्महत्या गरेका हुन् । यद्यपि उनले आत्महत्या गर्नुको कारण भने खुलेको छैन । भारतीय संचारमाध्यमहरूले जनाए अनुसार उनी डिप्रेशनसँग जुधिरहेका थिए ।

प्रहरीले आसिफको शव नियन्त्रणमा लिएर छानबिन सुरु गरेको छ । एसपी विक्रान्त रन्जनले आसिफको घटनामा हरेक एन्गलबाट जाँच गरिरहेको जानकारी दिएका छन् । प्रहरीका अनुसार आत्महत्या गर्नुअघि उनी आफ्नो कुकुरसँगै उक्त क्षेत्रमा हिँडुल गरेका थिए । उनको साथमा सुसाइड नोट बरामद नभएको प्रहरीले जनाएको छ ।

आसिफ करिब पाँच वर्षदेखि म्याक्लोडगन्जमा भाडाको घरमा एक विदेशी महिलासँग बस्दै आएका थिए । प्रहरीले आसिफसँगै बस्दै आएकी महिलालाई हिरासतमा लिएको जनाएको छ ।