देश

जेसीजको आयोजनामा जिल्लास्तरीय हाजिरीजवाफ हुँदै

इटहरी, भदौ ६–इन्द्रपुर जेसीजको आयोजनामा मोरङ जिल्लास्तरीय हाजिरीजवाफ प्रतियोगिता हुने भएको छ । आगामी भदौ ९ गतेदेखि १३ गतेसम्म माध्यमिक विद्यालय स्तरीय हाजिरीजवाफ प्रतियोगिता सुन्दरहरैंचा नगरपालिकाको विराटचोकमा गरिने आयोजकले बुधबार पत्रकार सम्मेलनको आयोजना गरी जनाएको छ ।

हाजिरीजवाफमा ५५ विद्यालय सहभागी हुने कार्यक्रम संयोजक कृष्णप्रसाद ओझाले बताए । प्रतियोगिताको विजेता विद्यालयले नगद ४१ हजार, दोस्रो हुनेले २१ हजार, तेस्रो हुनेले ११ हजार र सान्त्वनाले ६ हजार रुपैयाँ तथा उत्कृष्ट टिमले १२ हजार सहित ट्रफि मेडल तथा प्रमाण पत्र पाउने जेसीजका अध्यक्ष भुवन ढकालले बताए ।

५ समूहमा विभाजन गरेर प्रतियोगिता गरिने आयोजकले पत्रकार सम्मेलनमा जनाएको छ । सो कार्यक्रममा ६ लाख ८० हजार खर्च लाग्ने अनुमान गरिएको छ । कार्यक्रमको सम्पूर्ण तयारी समेत सकिएको अध्यक्ष ढकालले बताए । गत वर्षसमेत इन्द्रपुर जेसीजले हाजिरीजवाफ प्रतियोगिता गरेको थियो ।

Featured