देश

गुह्येश्वरीको सुन हराएको विषयमा गाली गर्नेलाई साइबर मुद्दाको तयारी

काठमाडौं, १४ कात्तिक-सामाजिक सञ्जालमार्फत पशुपति क्षेत्र विकास कोषका कोषाध्यक्ष मिलनकुमार थापाको गालीबेइज्जती हुने सामग्री पोष्ट गरेका केदारमान भण्डारीलाई साइबर अपराधको मुद्दा लगाउने तयारी प्रहरीले गरेको छ ।

गुह्येश्वरी मन्दिरको गर्भगृहमा रहेको सुनको अष्टदल र भैरवको मूर्तिबाट दुई किलो सुन कम भएको विषयको समाचार सार्वजनिक गराएको भन्दै पशुपतिनाथका पालोवाला भण्डारीसमेत रहेका केदारमानले यही २ कात्तिकमा सामाजिक सञ्जालमा कोषाध्यक्ष थापाको तस्वीरमा कालो पोती काटेर गाली बेइज्जतीको शब्दसहित पोष्ट गरेका थिए ।

कोषाध्यक्ष थापाले ४ कात्तिकमा महानगरीय प्रहरी परिसर काठमाडौंमा भण्डारीले साइबर अपराधसहित आफ्नो गाली बेइज्जती भएको भन्दै उजुरी दर्ता गरेका थिए ।

उजुरी दर्ता भएपछि परिसरले १२ कात्तिकमा भण्डारीलाई गुह्येश्वरी मन्दिर परिसरबाट पक्राउ गरेको थियो । भण्डारीलाई साइबर अपराधमा १६ कात्तिकमा अदालत पेश गर्ने तयारी भएको परिसरका प्रवक्ता सोमेन्द्रसिंह राठौरले जानकारी दिए । रासस