विदेश

चिनियाँ सेनाले चिसोमा पनि लद्दाख नछाड्ने, आधुनिक उपकरण दिइयो

एजेन्सी, १४ कात्तिक-लद्दाखस्थित भारत–चीन सीमा क्षेत्रमा यसअघि गर्मी मौसममा सैनिक तैनाथ हुने र चिसो मौसममा त्यहाँबाट जाने गरेका चिनियाँ सैनिकले यसवर्ष लद्दाख नछाड्ने भएका छन् ।

पूर्वी लद्दाखमा भारत र चीनबीच चलिरहेको सैन्य गतिरोधबीच चिसोको मौसममा पनि चिनियाँ सैनिक तैनाथ भइरहने भएका हुन् । चिनियाँ रक्षा मन्त्रालयले आफ्ना सैनिक जवानलाई अत्यधिक चिसोबाट बच्नका लागि आधुनिक उपकरण उपलब्ध गएको जनाएको छ । चिनियाँ रक्षा मन्त्रालयको यो भनाईले चिनियाँ सेनाले यो क्षेत्रमा माइनस ४० डिग्री तापक्रम हुँदा पनि पछि नहट्ने संकेत देखिएको छ ।

चीनको रक्षा मन्त्रालयका प्रवक्ता वरिष्ठ कर्णेल वु क्वानले अनलाइन ब्रिफिङमा बस्नका लागि सैनिक जवानलाई नयाँ ‘डिस्माउन्टेबल सेल्फ एनर्जाइज्ड इन्सुलेटिड क्याबिन’ उपलब्ध गराइएको जानकारी गराएका छन् ।

क्वानले पाँच हजार मिटरको उचाईमा माइनस ४० डिग्री तापमान भएको क्षेत्रमा यो आधुनिक क्याबिनभित्रको तापमान अधिकतम १४ डिग्रीसम्म कायम राख्न सकिने जानकारी दिए । क्वानका अनुुसार यो क्याबिनका साथै जवानलाई अलग–अलग स्लिपिङ ब्याग, डाउन ट्रेनिङ कोट र कोल्डप्रूफ जुत्ता पनि उपलब्ध गराइएको छ ।

यी सबै वस्तु चिसो रोक्न र भित्री तापक्रमलाई कायम राख्नका लागि उपयुक्त मानिन्छन् । विशेष गरी उच्च पहाडी क्षेत्रका लागि डिजाइन गरिएका यी वस्तुहरु अत्यन्तै आरामदायी पनि हुनेछन् ।

क्वानका अनुसार चिनियाँ सेनालाई खाना तातो नै राख्नका लागि थर्मल इंन्सुलेशन उपकरण दिइएको छ । उच्च पहाडी क्षेत्रमा आउटडोर राख्न लायक तत्काल तयार हुने खानाको परीक्षण पनि भइरहेको छ । क्वानले चिनियाँ सेनाले महत्वपूर्ण चौकीमा तैनाथ जवानलाई ड्रोन विमानका माध्यमबाट ताता फलफूल र सागसब्जी उपलब्ध गराउनेछ ।

चीनले पूर्वी लद्दाखको शून्यभन्दा कम तापक्रममा वास्तविक नियन्त्रण रेखा (एलएसी) मा पाँच महिनाअघि गत मेमा सुरु भएको सैन्य तनावबीच हजारौं सैनिक तैनाथ गरेको थियो ।

Featured