देश

जलजला गाउँपालिकामा ‘एक घर, एक पीसीआर जाँच’

पर्वत, ११ कात्तिक-पर्वतको जलजला गाउँपालिकामा कोरोना सङ्क्रमितको संख्या बढ्न थालेपछि समुदायस्तरमा आजदेखि कोरोना परीक्षण गर्न थालिएको छ । सङ्क्रमितको कन्ट्याक्ट ट्रेसिङमा परेकाहरूमा कोरोना पुष्टि हुन थालेपछि गाउँपालिकाले ‘एक घर-एक पीसीआर जाँच’ अभियान सुरु गरेको हो । गाउँपालिका अध्यक्ष यामबहादुर मल्लले पालिकाभित्रका सबैलाई यो सुविधा लिन आग्रह गरे ।

उनले कोरोनालाई हेलचेक्य्राइँ गर्न नहुने बताउँदै आफूले संक्रमित हुँदा भोगेको समस्याबारे समुदायमा जानकारी गराई अभियानलाई नागरिकको घरदैलामै पुग्ने गरी सञ्चालन गरिने बताए ।

बिहान १० बजे मिलनचोकबाट स्वास्थ्यकर्मीको टोलीले समुदायस्तरमा स्वाब संकलन थालेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत अर्जुन शर्माले जानकारी दिए ।

हरेक घरमा एक जनाको स्बाब संकलन गरिए पनि कोरोना संक्रमितको परिवारका भने सबैको संकलन गरिने भएको छ । यसअघि गाउँपालिकाका झण्डै पाँच सय जनाको पिसिआर परीक्षण गरिसकिएको छ ।

यसैबीच तत्काल पाँच शय्याको कोरोना अस्पताल बनाएर आवश्यकतानुसार विस्तार र होम आइसोलेसनलाई जनस्वास्थ्यको मापदण्डको कार्यान्वयन हुने गरी प्रयोग गरिने गाउँपालिकाले जनाएको छ । रासस 

Featured