विदेश

लिभरपुलको पुनरागमन जीत, चेल्सी र युनाइटेड बराबर

एजेन्सी, ९ कात्तिक-इंग्लिस प्रिमियर लिग फुटबलमा साविक विजेता लिभरपुल विजयी भएको छ । गएराति भएको खेलमा लिभरपुलले सेफिल्ड युनाईटेडलाई २–१ गोल अन्तरले पराजित गरेको हो ।

घरेलु मैदानमा एक गोलले पछि परेको अवस्था उल्टाउँदै लिभरपुलले जित निकालेको हो । एनफिल्डमा खेलको १३ औं मिनेटमा सानडर बेर्गेले पेनाल्टीमा गोल गर्दै सेफिल्डलाई अग्रता दिलाएका थिए ।

तर, ४१ औं मिनेटमा रोबर्टो फिर्मिन्हो र ६४ औं मिनेटमा डिएगो जोटाले गोल गर्दै लिभरपुललाई २–१ को जीत दिलाए । जितसँगै लिभरपुलले ६ खेलमा १३ अंक जोडेर अंक तालिकाको दोस्रो स्थानमा छ । सेफिल्ड ६ खेलमा १ अंक जोडेर पुछारबाट दोस्रो स्थानमा रहेको छ ।

गएराति नै भएको अर्को खेलमा म्यानचेस्टर युनाईटेड र चेल्सीले बराबरी खेल्दै अंक बाडेका छन् । ओल्ड ट्राफोर्डमा दुबै टोलीले पाएको मौकालाई सदुपयोग गर्न नसक्दा खेल बराबरीमा सकिएको हो ।

युनाईटेडका स्ट्राइकर एडिनसन काभानीले चेल्सीविरुद्धको खेलबाट डेब्यु गरे । फ्रेन्च क्लब पीएसजीबाट आएका उनी ड्यानियल जेम्सको स्थानमा ५८ औं मिनेटमा मैदान प्रवेश गरेका थिए । बराबरीसँगै युनाईटेडले ६ खेलमा ८ अंक जोडेर ११ औं स्थानमा छ भने समान खेलबाट ९ अंक जोडेको चेल्सी तालिकाको छैटौं स्थानमा छ ।

प्रिमियर लिगकै अर्को खेलमा क्रिस्टल प्यालेसले फुलहमलाई २–१ ले पराजित गरेको छ । क्रिस्टलको जितमा जिरो रेइडेवाल्ड र विल्फ्रेड जाहाले एक एक गोल गरे । फुलहमका टमले एक गोल फर्काए ।

Featured