देश

गोरखा दरबारबाट हनुमानढोका दरबारका लागि फूलपाती पठाइयो

गोरखा, ७ कात्तिक-गोरखा दरबारस्थित दसैंघरबाट काठमाडौँको हनुमानढोका दरबारका लागि फूलपातीसहितको डोली पठाइएको छ । विधिपूर्वक पूजाअर्चना गरी दरबारका सुसारेले आज बिहान ९ बजेर मिनेटको शुभसाइतमा फूलपातीसहितको डोली काठमाडौँ पठाएका हुन् । फूलपातीको डोली बा २ झ ३२२१ नम्बरको सरकारी गाडीमा राखेर हनुमान ढोका दरबार पठाइएको गोरखा दरबार हेरचाह अड्डाका प्रमुख हरिप्रसाद भुसालले जानकारी दिए । 

गोरखाबाट पठाइएको फूलपाती हनुमानढोका दरबार पुर्‍याइएपछि आज साँझ हर्ष बढाइँका साथ हनुमान ढोका दरबारमा फूलपाती भित्र्याउने प्रचलन रहँदै आएको छ । ‘गत वर्ष भक्तजनहरूको ठूलो भिडभाड लाग्ने गर्थ्यो,’ उनले भने, ‘यो पटक त्यो हुन सकेन, सामान्यरूपमा विधि पुर्‍याएर फूलपाती पठाएका छौं ।’

तत्कालीन गोरखाका राजा पृथ्वीनारायण शाहले काठमाडौँको हनुमानढोका दरबारबाट राजकाज सुरु गरेदेखि बर्सेनि बडादसैंको सातौँ दिन गोरखा दरबारको दशैँघरबाट फूलपातीसहितको डोली काठमाडौँको हनुमानढोका दरबार पुर्‍याएर  भित्र्याउने प्रचलन रहँदै आएको छ ।

गोरखा दरबारको दसैंघरबाट सतिपिपलस्थित फूलपाती चौतारासम्म फूलपातीको डोली दरबारका सुसारेहरुले बोकेर ल्याई त्यहाँबाट हनुमान ढोका दरबार पठाइएको हो ।

कोरोना भाइरसको सङ्क्रमणको जोखिमका कारण भक्तजनहरुको सहभागिता बिना नै यो पटक विधिपूर्वक दरबारस्थित दसैंघरबाट सतिपिपल चौतारासम्म ल्याएर गोरखाबाट फूलपातीको बिदाई गरिएको उनले बताए । सतिपिपलसम्म बोकेर ल्याइएको फुलपाती राखेर हनुमान ढोकामा फुलपाती पठाइएको हो । गोरखा दरबारको दसैंघरमा पनि आजै साँझ फूलपाती भित्र्याइन्छ ।

Featured