देश

पर्सामा नेकपा कार्यकर्ताबीच झडप, ८ जना घाइते

जनकपुरधाम,  ६ कात्तिक-पर्साको विन्दवासनी गाउँपालिकामा नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को शपथग्रहण कार्यक्रममा दुइपक्षबीच झडप हुँदा ८ जना घाइते भएका छन् । वडा नम्बर ५ प्रसौनीस्थित नेकपाको गाउँपालिका कमिटीको शपथ ग्रहण  कार्यक्रममा पार्टीका असन्तुष्ट कार्यकर्ताले नबोलाएको भन्दै विवाद हुँदा झडप भएको थियो ।

झडपमा लाठी हानाहान हुँदा घाइते भएकामध्ये स्थानीय मुकेश चौरसियाको अवस्था गम्भीर रहेको एसपी गंगा पन्तले जानकारी दिइन् । उनका अनुसार टाउको फुटेका चौरसियाको वीरगञ्जस्थित न्युरो अस्पतालमा उपचार भइरहेको छ ।

घाइते अन्य सबैको अवस्था समान्य छ । स्थानीय अस्पताल तथा क्लिनिकमा उपचारपछि उनीहरू घर फर्केका छन् । ‘बिहानै असन्तुष्टहरूले होहल्ला गर्दा विवाद भयो । धक्कामुक्की हुँदै लाठी हानाहान भयो । त्यसमा ७/८ जना समान्य घाइते भएका छन् । एक जनाको अवस्था गम्भीर छ,’ एसपीले पन्तले भनिन् ।