देश

आज गौरा पर्वका अवसरमा सुदूरपश्चिम प्रदेशमा सार्वजनिक विदा

काठमाडौं, भदौ ६–उमा महेश्वरसहित दुवोको पूजा गरेर सुदूरपश्चिम र मध्यपश्चिमवासीले आज गौरा पर्व मनाउँदैछन् । यो पर्व भाद्र शुक्ल अष्टमीका दिन मनाउनुपर्ने भए पनि यस वर्ष त्यसअगावै अगस्त्य ऋषिको उदय हुने भएकाले कृष्ण जन्माष्टमीकै दिन मनाउनुपर्ने शास्त्रीय विधान रहेको नेपाल पञ्चाङ्ग निर्णायक समितिका अध्यक्ष एवं धर्मशास्त्रविद् प्रा डा रामचन्द्र गौतमले बताए ।

भाद्र शुक्ल अष्टमीमा मनाइने गौरालाई उज्याली र कृष्ण अष्टमीमा मनाइने गौरालाई अँध्यारी भन्ने गरिन्छ । यसैले यस वर्षको गौरालाई अँध्यारी भनिन्छ । पहिलो पटक व्रत बस्नेले भने भाद्र शुक्ल अष्टमीअर्थात् उज्याली गौराबाटै शुरु गर्नुपर्ने व्रत विधान छ ।

“यस वर्ष अगस्ति ताराको उदय भदौ १९ गते बिहीबार बिहान १०ः१८ बजे हुने भएकाले कृष्ण अष्टमीकै दिन गौरा पर्व मनाउनुपर्ने शास्त्रीय वचनअनुसार समितिका विज्ञ सदस्यहरुको बैठकले भदौ ६ गतेको निर्णय गरेको हो”, उनले भने । कन्या राशिमा सूर्य गएपछि अर्थात् असोज महीना लागेपछि पनि गौरा मनाउनु हुँदैन । सिंह राशिमा सूर्य भएका बेला अर्थात् भदौ महीनामा गौरा मनाउनुपर्ने मानसखण्ड, निर्णयसिन्धु, हेमाद्रि लगायत ग्रन्थमा उल्लेख गरिएको छ ।

गौरालाई सुदूरपश्चिम र मध्य पश्चिम क्षेत्रका मानिसले ऐतिहासिक मौलिक पर्वका रूपमा लिने गरेका छन् । राजधानीमा पनि सुदूरपश्चिम र मध्य पश्चिम क्षेत्रका मानिसको बसोवास बढेसँगै यो पर्व यहाँ पनि धुमधामका साथ मनाउन थालिएको छ ।

सत्य युगमा हिमालय पुत्री पार्वतीले महादेव स्वामी पाऊँ भनी वर्षा ऋतुको भाद्र महीनामा जल, जङ्गल, जमीन र जनावरको डर नमानी तपस्या गरेपछि मनोकामना पूरा भएको सम्झनामा देशको पश्चिम क्षेत्रमा यो पर्व मनाउन शुरु गरिएको देउडा संस्कृतिविद् गायक नन्दकृष्ण जोशीले जानकारी दिए ।

गौरा पूजा गर्नका लागि पाँच वनस्पति कुश, काँस, सामा (सौँ), तीतेपाती र अपामार्ग कतै तिलको बिरुवा पनि राखेर देवीको आकार बनाउने गरिन्छ । यसरी बनाइएको देवीलाई भाद्र कृष्ण अष्टमीका दिन गाउँको सफा घरमा भित्र्याएर व्रतालुले निराहार बसी पूजा गर्ने परम्परा रहेको देउडा संस्कृतिविद् जोशीले बताए ।

सुदूरपश्चिम प्रदेशका गौरा घर र मन्दिरमा बिहीबार धार्मिक अनुष्ठानका साथ गौरा भित्र्याइएको थियो । गौरा भित्र्याउने दिनलाई स्थानीय भाषामा ‘ठूली गौरा’ भित्र्याउने दिनको रुपमा लिइन्छ । प्रदेश सरकारले भदौ ६ गते प्रदेशमा गौरा पर्वको अवसरमा सार्वजनिक बिदा दिएको छ । गौरा भित्र्याइसकेपछि व्रतालु महिलाले सामूहिक रुपमा गौरी भगवती र महेश्वर(शिव) भगवान्को पूजा अर्चना गर्ने गर्दछन् ।

पूजा गर्दा अक्षताका रुपमा प्रयोग हुने ‘बिरुडा’ (पाँच थरीका गोडागुडी)को विशेष महत्व छ । ‘बिरुडा’ लाई गौरा र महेश्वरको प्रसादको रुपमा ग्रहण गर्ने परम्परा छ । पूजाको काम सकिएपछि छरछिमेकमा प्रसादको रुपमा बाँडिने बिरुडालाई पकाएर खाने चलन छ । बिरुडा खाँदा पेटसम्बन्धी रोग निको हुने जनविश्वास छ । भाद्र पञ्चमी तिथिका दिन धार्मिक अनुष्ठानका साथ प्रत्येक घरमा तामाको भाँडामा बिरुडा भिजाएर राखिन्छ । बिरुडा भिजाएको दिनदेखि नै औपचारिक रुपमा गौरा पर्व शुरु भएको मानिन्छ ।

यो पर्वले एक ठाउँमा भेला हुने अवसर प्रदान गरी आपसी सद्भाव सुदृढ गराउन मद्दत पुग्ने तथा इष्टकूल देवता खुशी हुने विश्वास गरिन्छ । अनुकूल तिथिका दिन गौराको प्रतिमा विसर्जन गरिन्छ ।

Featured