देश

बाबुरामलाई जसपाको संघीय परिषद् अध्यक्ष बनाउने निर्णय

काठमाडौं, ४ कात्तिक-जनता समाजवादी पार्टी नेपालले बाबुराम भट्टराईलाई संघीय परिषद् अध्यक्ष बनाएको छ ।सोमबारदेखि बसेको जसपाको केन्द्रीय कार्यकारिणी समितिको बैठकले भट्टराईलाई संघीय परिषद्को अध्यक्ष बनाउने निर्णय गरेको हो । बैठकपछि बुधबार पत्रकारसँग कुरा गर्दै जसपाका नेता गंगानारायण श्रेष्ठले भट्टराईलाई संघीय परिषद् अध्यक्ष बनाउने निर्णय भएको बताए ।

यस्तै बैठकले संघीय परिषद्सँगै ८ सय १ सदस्यीय केन्द्रीय समिति समेत गठन गरेको छ । त्यस्तै समग्र पार्टीको समायोजनको निम्ति समायोजन कार्यदल समेत बनाएको श्रेष्ठले बताए । त्यसबाहेक विधानलाई परिमार्जन गर्ने र विधानमा आधारीत नियमावली समेत पारित गर्ने काम बैठकले गरेको छ ।

बैठकले कोभिड- १९ रोकथाम तथा नियन्त्रणमा सरकारले उदाशिनता देखाएको भन्दै विरोधसमेत गरेको छ । यस्तै पार्टीका सांसदहरूले चाडपर्वमा कुनै पनि भत्ता नलिने र भत्तास्वरुप आउने रकम कोरोना पीडितको उपचारमा खर्च गर्ने निर्णय समेत बैठकले गरेको छ । यसबाहेक कैलालीबाट निर्वाचित सांसद रमेश चौधरी लामो समयदेखि जेलमा रहेकाले उनको रिहाइ र पार्टीका अन्य नेता कार्यकर्तासमेत विभिन्न झुठा मुद्दामा थुनामा रहेकोले रिहाइको माग गर्दै देशभर कार्यक्रम गर्ने निर्णय समेत बैठकले गरेको छ ।

Featured