देश

रहेनन् चर्चित रेडियो प्रस्तोता किशोर गुरुङ

काठमाडाैं, १ कात्तिक-र्चित रेडियो प्रस्तोता किशोर गुरुङको ८६ वर्षको उमेरमा निधन भएको छ । बाथराेग र पक्षघातबाट पीडित गुरुङको भारतको सिलिगुडीस्थित आफ्नै निवासमा शुक्रबार राति निधन भएको उनका छोरा केवल गुरुङले बताए ।

उनले बीएफबीएस गोर्खा रेडियोमा स्टेसन मेनेजरकाे जिम्मेवारीसमेत निर्वाह गरेका थिए । सन् १९५६ मा ब्रिटिस आर्मीमा जलपाइगुडी दार्जिलिङबाट भर्ती भएर धरान हुँदै गुरुङ मलेसिया पुगेका थिए । मलेसियाको सेरेम्बनमा तालिम लिएका गुरुङले त्यसपछि क्वीन्स गोर्खा सिग्नल्समा सेवा गरे । उनले सन् १९६७ मा पहिलोपटक सिंगापुरस्थित गोर्खा फोर्सेस रेडियोमा काम गरेका थिए ।

यो रेडियो सन् १९७२ मा हङकङमा स्थानान्तरण हुँदा उनले लेफ्टिनेन्ट पदमा सम्पूर्ण जिम्मेवारीसहित हङकङमा ब्रिटिस सैनिक आकाशवाणीको गोर्खा सेवा सुरु गरेका थिए ।

सन् १९९६ अक्टोबरसम्म गुरुङले हङकङमा रेडियो प्रमुखको रूपमा जिम्मेवारी सम्हाले । त्यसलगत्तै सन् १९९७ मा काठमाडौंमा बीएफबीएस गोर्खा रेडियोको कार्यालय स्थापना गर्दै स्टेसन म्यानेजरको जिम्मेवारी सम्हालेका उनी २००८ मा सेवा निवृत्त भएका थिए ।

गुरुङ ‘बीएफबीएस’को चर्चित कार्यक्रम ‘परदेशीको सन्देश’का परिकल्पनाकार, उत्पादक तथा प्रस्तोता पनि थिए । अनौपचारिक प्रस्तुती, स्थानीयपनको झल्को तथा नेपाली परम्परागत शैलीमा उत्पादित कार्यक्रम ‘परदेशीको सन्देश’ विषयवस्तुले मात्र होइन, प्रस्तोता गुरुङको ठट्यौले शैली, सुमधुर आवाज र पृथक प्रस्तुतिका कारण पनि लाेकप्रिय थियाे । उनका एक छोरा केवल गुरुङ तथा स्मृती, सरला र शोभा गरी तीन छोरी छन् ।