देश

सहकर्मीको हत्यापछि फरार दुई जना ११ वर्षपछि पक्राउ

काठमाडौं, १ कात्तिक-२०६६ सालमा ललितपुरको गोदावरी नगरपालिका- १३ ईँटाभट्टामा काम गर्ने मकवानपुरका डिलबहादुर योञ्जनलाई कोदालीको बीँडले हानी हत्या गरेको आरोपमा २ जना अभियुक्तलाई प्रकाउ गरिएको छ । पक्राउ पर्नेमा मकवानपुर भीमफेदीका भीमसेन घागा मगर र रामकृष्ण चुनी मगर रहेको प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले जनाएको छ । 

ब्युरोको टोलीले ती दुई जनालाई बाँकेको नेपालगञ्जस्थित भातीय सीमा क्षेत्रबाट पक्राउ काठमाडौं लयाएको हो । उनीहरूलाई थप कारबाहीका लागि आजै वारदातस्थल रहेको ललितपुरस्थित महानगरीय प्रहरी वृत्त चापागाउँमा बुझाइएको ब्युरोका प्रमुख प्रहरी नायव महानिरीक्षक सहकुलबहादुर थापाले जानकारी दिए ।

२०६६ मा हत्या भएपछि अभियुक्त भनिएकाहरू फरार भई भारतमा लुकिछिपी बस्दै आएका (सीआईबी)ले जनाएको छ । उनीहरूबीच सामान्य विषयमा भएको झगडाको कारण उक्त घटना भएको प्रहरीले जनाएको छ । उनीहरू घटनापछि ललितपुरबाट पैदलै हेटौँडा गएर ट्रक चढी रक्सौल नाका हुँदै भारत गएका थिए । भारतमा परिचयसमेत बदलेर काम गर्दै आएका थिए । पछि उनीहरूले परिवारसमेत भारत लगेको खुल्न आएको छ ।