विदेश

भारतसँग तनावबीच सेनालाई चिनियाँ राष्ट्रपतिको निर्देशन : युद्धको तयारी गर्नू

एजेन्सी, २९ असोज-भारत र चीनबीच गत मेको सुरुवातदेखि वास्तविक नियन्त्रण रेखाको पूर्वी लद्दाखमा गतिरोध जारी छ । यसैबीच चिनियाँ राष्ट्रपति सी जिनपिङले जनमुक्ति सेनालाई युद्धको तयारीमा आफ्नो दिमाग र ऊर्जा लगाउन आव्हान गरेका छन् ।

बुधबार अक्टोबरमा दक्षिणी प्रान्त गुआङडोङस्थित एक सैनिक बेसक्याम्पको भ्रमणका क्रममा उनले सो निर्देशन दिएका हुन् । सीएनएनमा प्रकाशित एक लेखका अनुसार सीले चिनियाँ सैनिकलाई उच्च शतर्कतामा रहन र बिल्कुल बफादार र विश्वसनीय बन्न समेत आव्हान गरेका छन्।

उनले सैनिकलाई भने, ‘आफ्नो पूरा दिमाग र ऊर्जा युद्धको तयारीमा लगाउनुहोस् ।’ सी गुआङडोङमा शेनझेन विशेष आर्थिक क्षेत्रको ४० औं वर्षगाँठको उपलक्ष्यमा सम्बोधन गर्नका लागि त्यहाँ गएका थिए ।

जिनपिङ चिनियाँ कम्युनिस्ट पार्टीका महासचिव र केन्द्रीय सैन्य आयोगका अध्यक्ष समेत हुन् ।  चीनको अमेरिका र भारतसँग लगातार तनाव भइरहेको बेला सीको यस्तो भनाई बाहिर आएको हो । यसअघि उनले दुई दिनअघि चाओझोउमा पनि जनमुक्ति सेनाको नेभी मरिन कर्प्सको निरीक्षण गरेका थिए ।

भारत र चीनबीच चलिरहेको सीमा विवाद समाधानका लागि दुई देशबीच वार्ता चलिरहेको छ । यसैक्रममा सोमबार दुई देशका वरिष्ठ सैनिक कमाण्डरबीच चुशुलमा वार्ता भएको थियो ।

वार्तामा दवै देशका सेना वास्तविक नियन्त्रण रेखाबाट पछि फर्किने विषयमा कुराकानी भएको भारतीय सेनाका प्रवक्ताले जानकारी दिएका छन् ।

कारगिल युद्धको समयमा भारतीय सेनाको नेतृत्व गरेका पूर्व सेना प्रमुख वीपी मलिकले चीनको भनाई र गराईमा सधैं फरक हुने भन्दै भारतको सम्प्रभुतामा प्रश्न उठाएर आपसी विश्वासमा आघात पु¥याएको बताए ।

Featured