देश राजनीति

कर्णालीमा अविश्वास प्रस्तावबारे ओली–प्रचण्डबीच छलफल

काठमाडौं,  २६ असोज-कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीविरुद्ध अविश्वासको प्रस्ताव आएको भोलिपल्टै सत्तारुढ नेकपाका अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डबीच भेटवार्ता भएको छ । 

भेटमा कर्णाली प्रदेश सरकारविरुद्ध पार्टीकै सांसदले दर्ता गराएको अविश्वासको प्रस्तावपछि उत्पन्न समस्या समाधानका विषयमा छलफल भएको अध्यक्ष प्रचण्डका प्रेस संयाेजक विष्णु सापकोटाले जानकारी दिए । दुई अध्यक्षबीचको भेट कर्णाली प्रदेश संसदीय दलमा उत्पन्न विवाद समाधान गर्नेमा नै केन्द्रित रहेको बताइएको छ ।

प्रधानमन्त्री तथा पार्टी अध्यक्ष ओलीलाई भेट्न कार्यकारी अध्यक्ष प्रचण्ड प्रधानमन्त्री निवास बालुवाटार पुगेका थिए । आइतबार मात्रै कर्णाली प्रदेशका मुख्यमन्त्री शाहीविरुद्ध नेकपाकै प्रदेश सांसद यमलाल कँडेलकाे नेतृत्वमा बहुमत सांसदहरूले दलमा अविश्वासको प्रस्ताव दर्ता गराएका थिए ।

तत्कालीन नेकपा एमाले र माओवादी केन्द्रको गठबन्धन पार्टी एकताका समयमा भएको सहमतिअनुसार कर्णाली प्रदेशमा शाही माओवादीको कोटाबाट मुख्यमन्त्री बनेका हुन् ।