देश

नेपालका नेताहरु नेपाली चिकित्सकमाथि विश्वास गर्दैनन् : डा. श्रेष्ठ

काठमाडौं, भदौ ५–नेपाल चिकित्सक संघका अध्यक्ष डा. मुक्तिराम श्रेष्ठले स्वास्थ्योपचारका लागि सिंगापुर गएका प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्य अवस्थाबारे आफूलाई जानकारी नभएको बताएका छन् ।

बिहीबार रिपोर्टर्स क्लब नेपालमा आयोजित पत्रकार सम्मेलनमा डा. श्रेष्ठले प्रधानमन्त्री ओलीको स्वास्थ्यको बारेमा आफूलाई विस्तृतमा जानकारी नभएको बताएका हुन् ।

उनले भने, ‘राष्ट्रको प्रधानमन्त्री, ३ करोड नेपालीको प्रधानमन्त्रीको बारेमा सम्पूर्णलाई चिन्ता, चासो हुनु स्वभाविक हो । तर उहाँको स्वास्थ्यबारे हामीलाई जानकारी छैन । उहाँको स्वास्थ्य, रोग तथा अहिलेको अवस्थाको बारेमा जति मिडियालाई थाहा छ, मलाई पनि त्यति नै हो । १५ वर्ष केही हुँदैन मलाई भन्नुभयो, तर १५ दिन पनि नपुग्दै यसरी विदेश जानुभएको छ, यस्तो किन भयो ? सरकारले यसबारे जानकारी दिनुपर्छ कि पर्दैन ?’

उनले प्रधानमन्त्रीको स्वास्थ्यलाभको पनि कामना गरे । उनको स्वास्थ्यबारे जनतालाई विस्तृत जानकारी नदिइएकोमा गुनासो पोख्दै उनले भने, ‘हामी उहाँको स्वास्थ्यको लाभको कामना गर्छौँ । तर दुःख लाग्दो कुरा उहाँको स्वास्थ्यबारे कसैलाई विस्तृतमा जानकारी दिइएको छैन । तपाईँ, हामीले तिरेको करबाट उहाँको उपचार हुन्छ भने आम नागरिकले जानकारी पाउनुपर्छ कि पर्दैन ? किन थाह नदिइएको ?’

आजभन्दा पहिलेदेखि नै नेपालका नेताहरु सामान्य बिरामी हुँदा पनि विदेश जाने जनु प्रचलन छ, यसलाई रोक्नुपर्छ । राष्ट्रको ढुकुटी टन्न खर्च गरेर सबै चेकअप गरेर आउने त्यो चलन छ ठिक नभएको उनको भनाइ छ । ‘हुन त प्रधानमन्त्रीज्यू किड्नीको बिरामी हुनुहुन्छ । तर पहिले नेपालमै चेकजाँच गरेर अनि पो विदेश जाने त ! बहुदल आयो, गणतन्त्र आयो तर यो प्रणाली यथावत् छ । जनताले सिटामोल खान पाएका छैनन्, यो विषयमा कसैको चासो देखिँदैन’, उनले भने ।

नेता, मन्त्रीहरुले चाहेमा आवश्यक सबै उपकरणहरु नेपालमा ल्याएर यहीँ उपचार गर्न सकिने पनि उनले स्पष्ट पारे । उनले भने, ‘नेपालका चिकित्सकहरु विभिन्न देश अमेरिका, अष्ट्रेलिया गएर त्यहाँ कति नाम कमाएका छन् । तर नेपाली चिकित्सकप्रति नेपाली नेताहरुको नै विश्वास छैन । मुलुक समाजवादतिर उन्मुख भइसक्दा पनि सरकारको नेतृत्व गर्नेहरुमा परिवर्तन आएको देखिदैन ।’

उनले विदेशमा उपचार गर्नका लागि मेडिकल बोर्डको सिफारिस लिनुपर्ने जानकारी गराउँदै प्रधानमन्त्रीले त्यसो नगरेकोमा आक्रोश पोखे । ‘सामान्य जनताका छोराछोरीहरुलाई विदेशमा उपचारका लागि मेडिकल बोर्डले सिफारिस गर्नुपर्ने रे । राष्ट्रपति, प्रधानमन्त्री, नेताहरुलाई चाहीँ नपर्ने ? यतिकै सुटुक्क जाने ? यस्तो हो भने मेडिकल बोर्ड किन राखेको ? यस्तो कानुन किन बनाएको ?’, उनले भने ।

Featured