खेलकुद देश

कल्याणकारी कोषद्वारा खेलाडीलाई उपचार खर्च प्रदान

काठमाडौं, १८ असोज-राष्ट्रिय र पूर्वराष्ट्रिय खेलाडीलाई राष्ट्रिय खेलाडी कल्याणकारी कोषले उपचार खर्च प्रदान गरेको छ ।राजधानीमा आइतबार एक कार्यक्रमको आयोजना गरी कल्याणकारी कोषले नेपाली पूर्व र वर्तमान खेलाडीलाई उपचारका लागि आर्थिक सहयोग गरेको हो।

एथलेटिक्स, बास्केटबल, जुडो र कबड्डीका गरी चार जनालाई जम्मा ४ लाख रुपैयाँ प्रदान गरिएको राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव रमेशकुमार सिलवालले बताए । एथलेटिक्सका पूर्वराष्ट्रिय खेलाडी रविनकुमार राईको परिवारलाई एक लाख रुपैयाँ प्रदान गरिएको छ ।

क्यान्सर रोगबाट पीडित राईको गत १९ साउनमा निधन भएको थियो । उक्त रकम राईकी धर्मपत्नी मञ्जु श्रेष्ठ राईलाई हस्तान्तरण गरिएको हो । राईका ८ वर्षीय छोरा संकल्प पनि आँखाको क्यान्सरबाट पीडित छन् । सो रोगबाट उनको दुवै आँखाको ज्योति पनि गुमेको छ ।

सदस्य सचिव सिलवालले पूर्व तथा वर्तमान खेलाडी र प्रशिक्षकको बीमा गर्न सके सहयोगबाट वञ्चित हुने अवस्था नआउने बताए । उपचार रकम जुटाउन सक्नेलाई समेत राज्य र संघको तर्फबाट भएकाले सहयोगले सम्मान हुने उनले बताए ।

आज नै बास्केटबलकी सविता खड्कालाई १ लाख २५ हजार, जुडोका पूर्वखेलाडी पृथ्वी आलोकलाई एक लाख र कबड्डीकी मनिषा विष्टलाई ७५ हजार रुपैयाँ प्रदान गरिएको छ । तीनैलाई घुँडाको समस्या छ । मनिषाको रकम नेपाल कबड्डी संघका प्रतिनिधिले बुझाउने गरी बुझेका छन् ।

राखेपका सदस्यसचिव एवं कोषका अध्यक्ष सिलवालले उनीहरूलाई उक्त रकम बराबरको चेक हस्तान्तरण गरेका हन् । २०६८ सालमा स्थापना भएको खेलाडी कल्याणकारी कोषले समस्यामा परेका खेलाडीलाई सहयोग गर्दै आएको छ ।

यसअघि कोषले २०७२ सालको महाभूकम्पमा ज्यान गुमाएका खेलाडी, प्रशिक्षक र खेल पत्रकार गरी १२ परिवारलाई समान एक/एक लाखका दरले आर्थिक सहयोग उपलब्ध गराएको थियो । भूकम्पकै कारण अन्य क्षति ब्यहाेरेका ८० खेलाडीलाई जनही २० हजारका दरले आर्थिक सहयोग प्रदान गरेको थियो ।