देश

विदेशी बैंकमा पैसा राख्ने नेपाली खोजी गर्न धेरै कठिन : अर्थमन्त्री खतिवडा

काठमाडौँ, भदौ ५–अर्थमन्त्री डा. युवराज खतिवडाले विश्वका विभिन्न देशका बैंकहरुका पैसा राख्ने नेपालीको खोजी गर्न धेरै कठिन रहेको दावी गरेका छन् । बिहीबार प्रतिनिधिसभाको बैठकमा सांसदहरुले उठाएको प्रश्नको जवाफ दिँदै उनले सम्बन्धित देशको सहयोग नपाएसम्म विदेशम पैसा राख्ने नेपालीको खोजबिन गर्न कठिनाई रहेको दावी गरेका हुन् ।

उनले सूचना दिने संस्थाबाट सहयोग नपाए सम्म अनुसन्धान गर्न नसकिने बताए । उनले विदेशी बैंकमा नेपाली नागरिकको रकमको खोजी गरिरहेको बताउँदै सो कामका लागि अर्थ मन्त्रालयका राजस्व सचिवको अध्यक्षतामा समिति गठन भएको र त्यसले काम गरिरहेको दावी गरे ।

प्रतिनिधिसभामा कांग्रेस सांसद अतहर कमल मुसलमानले अर्थमन्त्री खतिवडालाई ‘नेपाली नागरिकहरुबाट गैरकानुनी रुपमा स्वीस बैंकमा जम्मा भएको देखिएको ५३ अर्ब रुपैयाँको के कारबाही हुँदैछ र कहिलेसम्म पूरा हुन्छ ?’ भनी प्रश्न गरेका थिए ।

त्यस्तै कांग्रेस सांसद रामबहादुर विष्टले ‘नेपालमा ठाउँ नभएर स्वीस बैंकमा राख्ने भाग्यमानी को हुन् र त्यो रकम फिर्ता ल्याउन सक्ने हिम्मत छ कि छैन ?’ भनी प्रश्न सोधेका थिए ।

अर्थमन्त्री खतिवडाले राजपरिवारको नाममा रहेका केही रकम नेपाल ल्याइसकेको बताए । नेपाल ट्रष्ट गठन भएपछि त्यसले खोजी गर्दा राजपरिवारका केही सदस्यको विभिन्न बैंकमा रकम भेटिएको भन्दै उनाले त्यसलाई नेपाल ट्रष्ट मातहत ल्याइसकेको बताए ।