देश

जनतालाई आत्मनिर्भर बनाउन सहकारीको भूमिका महत्वपूर्ण : मुख्यमन्त्री राई

विराटनगर, भदौ ५–प्रदेश–१ का मुख्यमन्त्री शेरधन राईले आम नागरिकलाई आत्मनिर्भर बनाउन सहकारीहरुको भूमिका महत्वपूर्ण रहेको बताएका छन् । विराटनगरमा बिहिबारदेखी संचालनमा ल्याइएको सौर्य बचत तथा ऋण सहकारी संस्था लिमिटेडको उदघाट्न गर्दै उनले संबिधानले समेत सहकारीलाई आर्थिक खम्बाको रुपमा निर्दिष्ट गरेको बताए ।

मुख्यमन्त्री राईले जनताको विश्वास जितेर सहकारीहरु अघि बढ्नुपर्ने बताए । जनताबाट संकलित बचत रकमको केहि सहकारीहरुले दुरुपयोग र मनोमानी गरिरहेको पाइएकाले त्यसतर्फ सबै सजग हुनुपर्ने उनले बताए । मुख्यमन्त्री राईले समयसापेक्ष ढंगले सहकारी संचालनलाई प्रबिधि मैत्री र स्मार्ट बनाउदै लानुपर्ने समेत बताए ।

उनले सहकारीहरु जनता र बचतकर्ताप्रति पुर्णरुपमा जवाफदेही बनेर अघि बढनुपर्ने बताउदै समृद्धिको यात्रामा प्रदेश सरकारको साथ रहने उल्लेख गरे । विराटनगरका ७ जना लगानीकर्ताको ७० लाख संचित पुंजीबाट सो सहकारी संचालनमा ल्याइएको हो । सहकारीले शिक्षा,स्वास्थ्य र साना परियोजनामा लगानी गर्ने लक्ष्य राखेको सौर्य बचत तथा ऋण सहकारी संस्था लिमिटेडका अध्यक्ष पवन झाले जानकारी दिए । आधुनिक प्रबिधिलाई पूर्णरुपमा अंगिकार गरेर सो सहकारी संचालनमा ल्याइएको उनले बताए ।

Featured