देश

१२ वर्षीया बालिकाको हत्या आरोपमा १५ वर्षीय बालक पक्राउ

विराटनगर, ११ असोज-सुनसरीको बराहक्षेत्र-१ कटहरेस्थित आफ्नै घरमा मृत अवस्थामा फेला परेकी १२ वर्षीया बालिकाको हत्या भएको पुष्टि भएको छ । १० असोज २ बजे राति १२ वर्षीया मीना राई आफ्नै घरमा मृत अवस्थामा फेला परेकी थिइन् । छिमेकीको घरमा धामी लगाएर बिहानको २ बजे राति घर फर्केका परिवार ढोका खोलेर भित्र पस्दा आफ्नो छोरीलाई मृत अवस्थामा देखि प्रहरीलाई खबर गरेका थिए । 

घटनाको जानकारी पाउनासाथ घटनास्थलमा खटिएको प्रहरी टोलीले मृतक बालिकाको शव शंकास्पद देखिएपछि अनुसन्धान सुरु गरेको थियो । घटनाको अनुसन्धानका लागि संघीय प्रहरी ईकाइ कार्यालय धरान र जिल्ला प्रहरी कार्यालय सुनसरीबाट विशेष टोली खटिएको थियो ।

मीनाकाे हत्यामा संलग्न भएकाे आरोपमा प्रहरीले स्थानीय १५ वर्षीय बालकलाई पक्राउ गरेको छ । बालिका मात्र एक्लै रहेका बेला चटपटे खान भन्दै घरमा छिरेका ती बालकले सामान्य भनाभनमा मीनाकाे हत्या गरेका प्रहरीले जनाएकाे छ ।

आरोपित बालकले मिनालाई सिसाको बोतलले टाउकोमा प्रहार गरी टिसर्ट र रुमालले घाँटी थिचेर हत्या गरेर घरमा गएर सुतेको अनुसन्धानबाट खुलेको प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ ।