विदेश

एमी कोनी ब्यारेट सर्वोच्चको न्यायाधीशमा प्रस्तावित

Judge Amy Coney Barrett speaks after President Donald Trump announced Barrett as his nominee to the Supreme Court, in the Rose Garden at the White House, Saturday, Sept. 26, 2020, in Washington. (AP Photo/Alex Brandon)

एजेन्सी, असोज ११-अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सर्वोच्च अदालतको नयाँ न्यायाधीशका लागि एमी कोनी ब्यारेटलाई नियुक्त गर्ने प्रस्ताव गरेका छन् । उदारवादी न्यायाधीस रुथ बेडर गिन्सबर्गको स्थानमा सामाजिक रुढीवादी मानिने एमीलाई ट्रम्पले न्यायाधीश नियुक्त गर्न प्रस्ताव गरेका हुन् ।

ह्वाइट हाउसको रोज गार्डेनमा मनोनयन घोषणा गर्दै ट्रम्पले एमीलाई अपूर्व उपलब्धि हासिल गर्ने महिलाका रुपमा चर्चा गरे । अब सिनेटले सुनुवाईपछि उनको नाम पारित गरेमा एमी सर्वोच्च अदालतमा दिवंगत न्यायाधीश गिन्सबर्गको स्थानमा नियुक्त हुनेछिन् । गिन्सबर्गको ८७ वर्षको उमेरमा अघिल्लो साता निधन भएको थियो ।

ट्रम्पले एमीको नाम प्रस्ताव गर्दै उनी संविधानप्रति अटूट निष्ठा राख्ने व्यक्ति भएको बताएका थिए । डेमोक्र्याटहरुले आगामी नोभेम्बरमा हुने निर्वाचनपछि मात्रै न्यायाधीशको नियुक्ति गर्नुपर्ने बताउँदै आएका बेला ट्रम्पले न्यायाधीसका लागि नाम सिफारिस गरेका हुन् ।

चार वर्षअघि चुनाव भन्दा १० महिनाअघि नै खाली भएको पदमा नियुक्ति गर्न खोज्दा सिनेटमा रिपब्लिकन नेताले चुनाव वर्षमा नियुक्त गर्न नहुने भन्दै रोकेका थिए । अहिले रिपब्लिकन नेताले नै जति सक्दो चाँडो सुनुवाई प्रक्रिया सकेर नियुक्ति प्रक्रिया पूरा गर्ने बताएका छन्।

रिपब्लिकनको बहुमत रहेको सिनेटमा प्रस्तावित न्यायाधीशको नाम अनुमोदनका लागि सामान्य बहुमत भए पुग्छ । एमी नियुक्त भएमा अमेरिकाको सर्वोच्च अदालतमा कन्जरभेटिभ न्यायाधीशको ६–३ को बहुमतमा हुनेछन् । ४८ वर्षकी एमी नियुक्त भएमा ट्रम्पले सर्वोच्चमा नियुक्त गरेको तेस्रो न्यायाधीश हुने छिन्। अमेरिकाको संविधान अनुसार सर्वोच्च अदालतमा न्यायाधीशको पद जीवनकालभरी रहन्छ ।

Featured