विदेश

जापानका नयाँ प्रधानमन्त्री विनासर्त किमलाई भेट्न तयार

एजेन्सी, १० असोज-जापानका नयाँ प्रधानमन्त्री योशिहिडे सुगाले उत्तर कोरियाका सर्वोच्च नेता किम जोन अनसँग भेट्न चाहेको बताएका छन् । उनलाई आफूले विनासर्त भेट्न तयार रहेको पनि उनले शुक्रबार स्पष्ट पारेका हुन् ।

उनले भनेका छन्, ‘जापानको नयाँ प्रधानमन्त्रीका रूपमा म उहाँलाई भेट्न चाहन्छु, त्यसका लागि कुनै सर्त मसँगै छैन ।’ संयुक्त राष्ट्रसंघको ७५औँ महासभामा बोल्ने क्रममा उनले उत्तर कोरिया र जापानबीचको सम्बन्धलाई सामान्य बनाउन चाहेको पनि स्पष्ट पारे ।

उनले जापान-डीपीआरके प्योङ्गयाङ्ग घोषणाको स्मरण गर्दै त्यसअनुसार नै सम्बन्धलाई अगाडि बढाउने चाहेको पनि उल्लेख गरे । ‘आपसी सम्वन्ध र परमाणु सम्बन्धी विषयमा सन् २००२ मा भएको दुई पक्षीय सम्झौतालाई कार्यान्वयन गरेर अगाडि बढ्नु पर्ने कुरामा मेरो जोड छ,’ उनले भने ।

प्रधानमन्त्री सुगाले टोकियो र प्योङ्गयाङ्गका बीचमा रचनात्मक र सन्तुलित सम्बन्धको पक्षमा नै आफू रहेको पनि जानकारी दिए ।  उनले थने, ‘हामी हाम्रो दुई पक्षीय कारणले मात्रै नभइ यस क्षेत्रमा शान्ति स्थापनाका लागि पनि योगदान पुर्‍याउनु पर्दछ, त्यसैले हामी बीचमा सहकार्य र सुमधुर सम्वन्धको आवश्यकता छ ।’उनले आफू आफ्ना प्रतिबद्धता र उद्देश्यबाट पछाडि हट्ने र राम्रो गर्ने अवसरलाई गुमाउने पक्षमा नरहेको पनि स्पष्ट पारे ।

Featured