देश सूचना/ प्रबिधि

ओटीटी/मोबाइल एप्समा आधारित टेलिभिजन प्रसारण रोक्न माग

काठमाडौं, ८ असोज-नेपाल केबल टेलिभिजन व्यवसायी महासंघले ओटीटी/मोबाइल एप्समा आधारित टेलिभिजन प्रसारण बन्द गराउन माग गरेका छन् ।  महासंघका पदाधिकारीले बिहीबार सूचना तथा सञ्चार मन्त्रालय, सूचना प्रविधि विभाग र संसदको विकास तथा प्रविधि समितिमा ज्ञापनपत्र बुझाउँदै नेपालमा ओटीटी/मोबाइल एप्सबाट हुने टेलिभिजन प्रसारण बन्द गराउन माग गरेका हुन् । नेपालमा ओटीटी/मोबाइल एप्समार्फत प्रभु टीभी र नेटटीभीले टेलिभिजन प्रसारण गर्दै आएका छन् । 

गत सोमबार संसदको विकास तथा प्रविधि समितिले आगामी ७ कात्तिकभित्र विज्ञापन बोर्ड गठन गरी विदेशी च्यानलमा विज्ञापनरहित नीति (क्लिनफिड) लागू गर्न नेपाल सरकारलाई निर्देशन दिएको थियो । केवल टेलिभिजन व्यवसायीले क्लिनफिड लागू हुनु अगाडि सरकारले केही सुविधा दिनुपर्ने र ओटीटी/मोबाइल एप्समा आधारित टेलिभिजन प्रसारण सेवा प्रदायकलाई बन्द गराउनुपर्ने माग गरेका हुन् ।

महासंघका अध्यक्ष ध्रुव शर्माले नेपालमा ओटीटी/मोबाइल एप्समा आधारित टेलिभिजन प्रसारण कानुनसम्वत् लाइसेन्स लिएर सञ्चालनमा नआएको भन्दै हटाउनुपर्ने माग गरे । व्यवसायीले नेपालमा गैरकानुनी रूपमा विदेशी तथा स्वदेशी ओटीटी/मोबाइल एप्समार्फत भएका प्रसारणले अमर्यादित व्यापार गर्नुका साथै सरकारलाई अर्बौंको राजश्व छली गरिरहेको समेत बताएका छन् । त्यस्ता प्रसारणलाई क्लिनफिड लागू हुनुअघि नै बन्द गराउन व्यवसायीले माग गरेका हुन् ।