खेलकुद देश

ग्रेडिङले महिला क्रिकेटर उत्साहित

काठमाडौं, ८ असोज-गत मंगलबार बसेको नेपाल क्रिकेट संघको बोर्ड बैठकले महिला क्रिकेटरलाई ग्रेडिङ गरेर पारिश्रमिक निर्धारण गरेको छ । तीन श्रेणीमा ग्रेडिङ गर्दा १९ महिला खेलाडी समावेश भए । पुरुष क्रिकेटरलाई भने यसअघि ग्रेडिङ गरेर पारिश्रमिक प्रदान गर्दै आएको संघको निर्णयबाट महिला क्रिकेटरले सुरुआत राम्रो भएको प्रतिक्रिया दिएका छन् ।

भदौ दोस्रो सातालाई तय भएको क्यानको बोर्ड बैठक कोरोनाका कारण स्थगित भएको भन्डै २० दिनपछि मंगलबार चितवनमा सम्पन्न भयो । साधारणसभाको मिति तय हुँदा बैठकमा खेलाडीको ग्रेडिङ, राष्ट्रिय प्रतियोगिता आयोजना लगायतका विभिन्न विषय पारित भए । योसँगै क्रिकेट चलायमान हुने अपेक्षा गरिएको छ । महिला क्रिकेटरलाई अगामी दिन अझै व्यावसायिक र महिला क्रिकेटको अभिवृद्धिका लागि महिला खेलाडीलाई तलब सुविधा दिनेलगायतका निर्णय भएको नेपाल क्रिकेट संघ (क्यान) का अध्यक्ष चतुर बहादुर चन्दले बताए ।

महिला क्रिकेट विकासका लागि चालिएको यो महत्त्वपूर्ण कदमको महिला क्रिकेट टोलीकी कप्तान रुबिना क्षेत्री बेलवासेले स्वागतयोग्य भएको बताइन् । महिला क्रिकेटमा लागेको लामो समयपछि महिला क्रिकेटले अगामी दिनमा फड्को मार्ने अपेक्षा व्यक्त गरिन् ।

त्यसो त, नेपाल महिला क्रिकेट टोली दक्षिण एसियमा बलियो टिमका रूपमा हेरिन्छ । प्रचुर सम्भावना हुँदाहुँदै पनि उपेक्षित रहँदै आएको छ । न्यून अन्तर्राष्ट्रिय सहभागितामा पनि महिला टोलीले राम्रो प्रदर्शन गर्दै आएको छ । साँघुरो पूर्वाधारका बावजुत पनि महिला क्रिकेटले अन्तर्राष्ट्रियस्तरमा राम्रो छाप छोडिरहेका छन् । कप्तान रुबिनाले भनेजस्तै उप कप्तान सीता राना मगरले पनि ग्रेडिङ गरि महिला खेलाडीलाई पारिश्रमिक प्रदान गर्नु सकारात्मक भएको प्रतिक्रिया दिइन् ।

अन्तर्राष्ट्रिय नियमक निकाय अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) को लामो प्रतिबन्ध पछि फुकुवा भएको क्यानले आगामी दिनमा महिला क्रिकेटलाई प्राथमिकतामा राख्ने प्रतिबद्धता जनाएको छ । कप्तान रुबिनाले नेपाली महिला क्रिकेटको स्तर बढाउन आगामी दिनमा अन्तर्राष्ट्रियस्तरका अनुभव र घरेलु प्रतियोगितामा ध्यान दिनुपर्ने बताउँछिन् ।