देश राजनीति

डा केसीसँग तत्काल वार्ता सुरु गर्न कांग्रेसको अपिल

काठमाडौं, ७ असोज-नेपाली कांग्रेसले अनशनरत प्रा. डा. गोविन्द केसीको स्वास्थ्यमा देखिएको बढ्दो प्रतिकूलता दृष्टिगत गरी ‘इमान्दार वार्ता र सार्थक कार्यान्वयन’मा तदारुकता प्रस्तुत गर्न सरकारसँग अपिल गरेको छ ।

कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले आज विज्ञप्तिमार्फत कांग्रेसको पालामा चिकित्सा शिक्षामा विस्तार भएको, सुधारका लागि उच्चस्तरीय माथेमा कार्यदल बनाइएको र प्रा. डा. केसीका माग पूरा गर्दै जारी गरिएको राष्ट्रिय चिकित्सा शिक्षा अध्यादेश, २०७४  ले मार्गप्रशस्त गरेकाले वर्तमान सरकारले इमानदार ढंगले कार्यान्वयनको दिशामा लगेको भए चिकित्सा शिक्षाको क्षेत्रमा सुधार र प्रगतिको गति यसबेलासम्म फरक उचाइमा पुगिसकेको हुने जनाएका छन्  । डा केसीको अहिलेको अनशनका समयमा ‘बिराएको बाटोबाट ठीक बाटोमा आउन’ संघीय सरकारसँग कांग्रेसले अपिल गरेको छ ।

चिकित्सा शिक्षा र स्वास्थ्य सेवा सुधारलगायतका माग राखेर डा. केसीले जुम्लाबाट अनशन सुरु गरेका थिए । जुम्लामा असहज अवस्था भएपछि मंगलबार विमानमार्फत काठमाडौं आइपुगेका थिए । ईच्छाविपरीत प्रहरी प्रशासनले उनलाई ट्रमा सेन्टरमा लगेपछि विवाद सिर्जना भएको थियो ।मंगलबार बेलुका उनलाई शिक्षण अस्पतालमा पुर‍्‍याएको थियो । त्यहीँबाट उनले अनशन जारी राखेका छन् ।