देश मनोरंजन

‘कृष्ण लीला’मा पुष्प र दीपिकाको जोडी

काठमाडौं, ७ असोज-चलचित्र ‘कृष्ण लीला’मा अभिनेता पुष्प खड्का र अभिनेत्री दीपिका प्रसाईं पक्का भएका छन् । गत साता निर्माण पक्षले पुष्प र दीपिकासँग कागजी सम्झौता गरेको हो । चलचित्रमा पुष्प र दीपिकालाई रोमान्टिक जोडीका रूपमा प्रस्तुत गरिनेछ ।

पुष्प र दीपिकाले यसअघि दुई चलचित्रमा एकसाथ काम गर्ने समाचार बाहिरिएको थियो । उनीहरूले ‘छक्का पञ्जा-३’ र ‘मारुनी’मा एकसाथ काम गर्ने तय भएको थियो । तर, छक्का पञ्जाबाट पुष्प बाहिरिए भने मारूनीबाट दीपिका बाहिरिइन् । उनीहरूले ‘कृष्ण लीला’मा पहिलो पटक एकसाथ काम गर्दै छन् ।

दीपक ओलीको निर्देशनमा बन्न लागेको यस चलचित्रका लागि पुष्प र दीपिकासँगै बुद्धि तामाङ, रवीन्द्र झा पनि पक्का भएका छन् । उनीहरूसँग पनि निर्माण पक्षले कागजी सम्झौता गरिसकेको छ ।

कमेडी शैलीको यस चलचित्रको कथा, पटकथा तथा संवाद सञ्चारकर्मी तथा निर्देशक लक्ष्मण सुवेदीले लेखिरहेका छन् । रोहित कट्टेल प्रस्तुतकर्ता रहेको चलचित्रमा रत्न श्रेष्ठको लगानी रहनेछ । असोजकाे दोस्रो साताबाट छायांकन सुरु गरिने बताइएको यस चलचित्रलाई शिव ढकालले खिच्ने छन् ।