देश राजनीति

वामदेवलाई राष्ट्रियसभा लैजाने निर्णयविरुद्ध परेको रिट पार्टीले लड्ने

काठमाडौं, ६ असोज-पार्टी उपाध्यक्ष वामदेव गौतमलाई राष्ट्रियसभामा मनोनीत गर्ने निर्णयविरुद्ध सर्वोच्च अदालतमा परेको रिट सत्तारूढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले लडिदिने भएको छ । 

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा मंगलबार बसेको सचिवालय बैठकमा गौतमलाई मनोनीत गर्ने निर्णयविरुद्ध वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले दायर गरेको रिटबारे छलफल भएको थियो ।

गौतमलाई पार्टीले आवश्यकताका आधारमा मनोनीत गरेकाले सो निर्णयविरुद्ध परेको मुद्दा पार्टीले नै लड्ने सहमति भएको नेकपा सचिवालय स्रोतले बतायो । गौतमलाई मन्त्रिपरिषद्‍मा ल्याउने गरी मनोनीत गरिएकोभन्दै सो हुन नदिन अन्तरिम आदेश माग गरिएको छ ।

‘वामदेव गौतमलाई राष्ट्रियसभामा मनोनीत गर्ने निर्णय सिफारिस तथा यसको आधारमा गरिएका सबै कामकारबाहीहरू उत्प्रेषणको आदेशद्वारा बदर गरिपाऊँ,’ रिटमा भनिएको छ, ‘प्रतिषेधको आदेशद्वारा वामदेव गौतमलाई मन्त्रिमण्डलमा समावेश नगर्नू–नगराउनू ।’

संविधानको धारा ७८ (४) मा प्रतिनिधिसभाको निर्वाचनमा पराजित भएको व्यक्ति उक्त कार्यकालमा मन्त्री बन्न नपाउने प्रावधान छ । त्यसैलाई आधार बनाएर गौतमलाई मन्त्रीका नियुक्ति हुन नहुने रिटमा जिकिर  गरिएको छ ।