देश

अस्पताल लगेपनि समयमा उपचार नपाउँदा मृत्यु

धरान,  ६ असोज-अस्पताल पुर्‍याएर पनि समयमा उपचार नपाउँदा एक वृद्धाको मृत्यु भएको छ । झापाको मेचीनगर–५ निवासी ७२ वर्षीया पवित्रादेवी तिम्सिनाको धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा समयमा उपचार हुन नसक्दा मृत्यु भएको हो ।

श्वासप्रस्वासमा समस्या भएपछि उनलाई उपचारका लागि झापाकै कनकाई अस्पताल विर्तामोडमा १ असोजमा भर्ना गरिएको थियो । बिरामीको अवस्था झन जटिल बन्दै गएपछि तीन दिनपछि अस्पतालले धरान लाने सल्लाह दिएको थियो । कनकाईबाट रेफर गरिएपछि बिरामीलाई परिवारले आइतबार नै धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पुर्‍याएका थिए ।

तर धरानमा तीन घण्टासम्म बिरामीलाई अस्पताल प्रवेश गर्न नदिएपछि बिरामीको स्वास्थ्य थप कमजोर बन्दै गएको र समयमा उपचार नपाएकै कारण तिम्सिनाको मृत्यु भएको पारिवारिक स्रोतले जनाएको छ ।

उनको निधनपछि अस्पतालले कोरोना परीक्षणका क्रममा गरेको स्वाब सङ्कलनको रिपोर्ट पोजेटिभ आएको जनाइएको छ ।  कोरोना सङ्क्रमण पुष्टि भएपछि तिम्सिनाको सोमबार बेलुका ८ बजे झापाको कनकाई घाटमा परिवारका सदस्य र आफन्तजनका साथमा नेपाली सेनाले दाहासंस्कार गरेको बताइएको छ ।

तिम्सिनाका ६ जना छोरा र चार छोरी छन् । तिम्सिनाका कान्छा छोरा सुजन नेपाल पत्रकार महासंघ इलाम शाखा उपाध्यक्ष छन् भने छोरी सृजना महासंघ ललितपुर शाखा उपाध्यक्ष छिन् । त्यस्तै छोराहरू वासुदेव र गणेश तथा छोरीहरू मन्जु र  निर्मला पनि विभिन्न सञ्चार माध्यममा आवद्ध छन् ।

Featured