देश

गुल्मीमा कांग्रेसका कार्यकर्ता र प्रहरीबीच झडप

बुटवल, ५ असोज-गुल्मीमा नेपाली कांग्रेसका कार्यकर्ता र प्रहरीबीच झडप भएको छ । रेसुंगा नगरपालिका- १२ को रानीपोखरी निमाविको विषयलाई लिएर कांग्रेसले गरेको प्रदर्शनमा सोमबार प्रहरीले केही व्यक्तिलाई पक्राउ गरेको थियो । पक्राउ परेका कार्यकर्तालाई नि:सर्त छाड्न माग गर्दै गरिएको प्रदर्शन जिल्ला प्रशासन कार्यालयभित्र प्रवेश गर्न थालेपछि प्रहरीले उनीहरूलाई रोक्न खोजेको थियो ।

एक्कासि प्रशासन कार्यालयभित्र कांग्रेसका नेता तथा कार्यकर्ता पस्न खोजेपछि प्रहरीले रोक्ने क्रममा झडप भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायब उपरीक्षक केदारराज पन्तले जानकारी दिए ।

झडपमा कांग्रेस जिल्ला सभापति भुवनप्रसाद श्रेष्ठ र नेता पूर्णबहादुर केसी घाइते भएको कांग्रेस जिल्ला सचिव खिलध्वज पन्थीले जानकारी दिए । त्यस्तै, प्रहरी निरीक्षक राजकुमार रावलसहित चार जना घाइते भएको पन्तले जानकारी दिए ।

नेपाली कांग्रेसका सभापति श्रेष्ठले प्रहरी र प्रशासनले सत्ताको आडमा घटनामा संलग्नलाई उन्मुक्ति दिइरहेको आरोप लगाए । उनले सोमबार साँझसम्म कांग्रेस कार्यकर्ता कुटपिट गर्नेलाई पक्राउ नगरे चरणवद्ध आन्दोलन गरिने बताए ।

Featured