देश सूचना/ प्रबिधि

७ कात्तिकभित्र क्लिन फिड लागू गर्न सरकारलाई निर्देशन

काठमाडौं, ५ असोज-संसदीय समितिले आगामी ७ कात्तिकसम्म विज्ञापन बोर्ड गठन गरी क्लिन फिड लागू गर्न सरकारलाई निर्देशन दिएको छ । राष्ट्रपतिबाट प्रमाणित भई कार्यान्वयनको चरणमा रहेको विज्ञापन नियमन गर्ने ऐन २०७६ अनुसार आगामी ७ कात्तिकभित्र विज्ञापन बोर्ड गठन गरी क्लिन फिड लागू गर्न समितिले सरकारलाई निर्देशन दिएको हो ।

संसदको विकास तथा प्रविधि समितिले ६ कात्तिक २०७७ भित्र बोर्ड गठन गरी ऐनको दफा ६ अनुसार डाउनलिंक अनुमति लिएर नेपालमा प्रसारणमा रहेका टीभी च्यानललाई विज्ञापनरहित बनाउन सञ्चार तथा सूचना प्रविधि मन्त्रालयलाई निर्देशन दिएको हो ।

विज्ञापनरहित हुन नसक्ने च्यानलको प्रसारण रोक्न मन्त्रालयले बनाएका कार्ययोजना १५ दिनभित्र समितिमा पेस गर्न पनि निर्देशन दिइएको समिति सभापति कल्याणी कुमारी खड्काले बताइन् । ऐन कार्यान्वयनमा आएपछि विदेशी च्यानलहरूको प्रसारण रोकिँदा पर्ने सकारात्मक र नकारात्मक प्रभावका बारेमा पनि मन्त्रालयको धारणा १५ दिनभित्र पेस गर्न समितिले निर्देशन दिएको छ ।

समितिमा आज विज्ञ र सञ्चार मन्त्रालयका पदाधिकारीसँगको छलफलपछि स्वदेशी टीभीलाई प्रवर्द्धन गर्ने उद्देश्यले विदेशी टीभीको प्रसारणमा नेपाली विज्ञापन नराख्न पनि निर्देशन दिएको छ ।