विदेश

भारतका पूर्व–गृहमन्त्री चिदम्बरम पक्राउ

नयाँ दिल्ली, एजेन्सी, भदौ ५-भारतका पूर्व गृहमन्त्री पी. चिदम्बरमलाई त्यहाँको केन्द्रीय अनुसन्धान व्युरो सीबीआईले गिरफ्तार गरेको छ।

सीबीआईले चिदम्बरमलाई उनको घरबाटै हिरासतमा लिएको थियो। चिदमम्बरमलाई पक्राउ गरेपछि सीबीआई मुख्यालय लगिएको थियो। त्यसपछि सीबीआईले चिदम्बरमलाई आधिकारिक हिसाबमा गिरफ्तार गर्यो।

चिदम्बरमलाई बिहीबार सीबीआईलाई विशेष अदालतमा पेश गरिनेछ। चिदम्बरममाथि भ्रष्टाचारको आरोप छ जुन उनले अस्वीकार गर्दै आएका छन्।

दिल्ली उच्च अदालतले उनलाई पक्राउबाट संरक्षण गर्ने निर्णय गर्न अस्वीकार गरेपछि पी चितम्बरमको गिरफ्तारीको सम्भावना बढेको थियो।

यस दौरान उनी सर्वोच्च अदालतको शरण पनि गएका थिए। उनको मुद्दामा शुक्रबार सुनुवाई हुनेछ।

पक्राउ अघि चिदम्बरमको ‘ड्रामा’

बुधबार साँझ करिब सवा आठ बजे पत्रकार सम्मेलन गरेर चिदम्बरमले आफूमाथि लागेको सबै आरोपको खण्डन गरेका थिए। उनले आफू नभागेको बरु आफ्नो हितको लागि कानुनको शरणमा गएको बताएका थिए।

चिदम्बरम घर पुगेको केही मिनेटपछि नै सीबीआईको टिम उनको घर पुगेको थियो। तर सीबीआई पुगेपछि पनि चिदम्बरमको घरको गेट खोलिएन।

त्यसपछि सीबीआईको टिमका सदस्यले पर्खाल नाघेर भित्र प्रवेश गरेका थिए। सुरक्षाको लागि दिल्ली प्रहरी पनि चिदम्बरमको घर बोलाइएको थियो।

सीबीआई चिदमबरमको घर पुगेको खबर आएपछि समर्थकहरु उनको घरबाहिर जम्मा भएर उनको पक्ष र सरकारको विरुद्ध नारा लगाएका थिए।

सीबीआई मङ्गलबार साँझ पनि चिदम्बरमको घर पुगेको थियो। उनी त्यहाँ नभएपछि सीबीआईले उनी विरुद्ध लुकआउट नोटिस जारी गरेको थियो। सीबीआईले पक्राउ गर्ने समयमा नभेटेकाले उनी भागेको आशंका गरिएको थियो।

Featured