देश

काठमाडौंका ६५२ सहित उपत्यकामा थपिए ७३७ संक्रमित

काठमाडौं, ३१ भदौ-काठमाडौं उपत्यकामा एकै दिन ७ सय ३७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । उपत्यका संक्रमण पुष्टि भएको यो अहिलेसम्मकै उच्च हो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर गौतमका अनुसार उपत्यकाका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणका क्रममा थप ७ सय ३७ जनामा कोरोना पुष्टि भएको हो ।

आज सबैभन्दा धेरै काठमाडौंमा संक्रमित देखिएको मन्त्रालयले जनाएको छ । आज काठमाडौंमा ६ सय ५२ जना संक्रमित थपिएका छन् । ललितपुर ६० र भक्तपुरमा २५ जना कोरोना संक्रमित देखिएको प्रवक्ता डा. गौतमले जानकारी दिए ।

आज देशभर १० हजार ४ सय ९४ जनाको परीक्षण गर्दा १ हजार ५ सय ३९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । त्यस्तै, आज देशभरबाट १ हजार ६८ जना डिस्चार्ज भएका छन् ।

आजसम्म ८ लाख ७२ हजार २ सय ७४ जनाको पीसीआर विधिबाट परीक्षण गर्दा ५८ हजार ३ सय २७ जनामा कोरोना पुष्टि भएको छ । संक्रमण पुष्टि भएका मध्ये ४१ हजार ७ सय ६ संक्रमित निको भएका छन् भने १६ हजार २ सय ४२ जना सक्रिय संक्रमित रहेको मन्त्रालयले जनाएको छ ।