देश

सुदूरपश्चिममा आज ६९ जनामा कोरोना पुष्टि

डडेल्धुरा, ३१ भदौ-सुदूरपश्चिममा थप ६९ जनामा कोरोना पुष्टि भएको छ । बुधबार सेती प्रादेशिक अस्पतालको प्रयोगशाला र जिल्ला अस्पताल डोटीको प्रयोगशालामा गरिएको परीक्षणमा थप ६९ जनामा कोरोना पुष्टि भएको होे ।

सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा पछिल्लो २४ घण्टामा ४ सय २५ जनाको कोरोना परीक्षण गर्दा २९ जनामा पुष्टि भएको अस्पतालका सूचना अधिकारी दिलिपकुमार श्रेष्ठले जानकारी दिए । उनले कैलालीका २१ र कञ्चनपुरका आठ जनामा संक्रमण पुष्टि भएको बताए ।

सूचना अधिकारी श्रेष्ठका अनुसार कैलालीको गौरीगंगा नगरपालिकाका सात, लम्कीचुहा नगरपालिकाका ६, धनगढी उपमहानगरपालिकाका चार, गोदावरी नगरपालिकाका दुई, जोशीपुर र टीकापुरका एक/एक जनामा संक्रमण पुष्टि भएको हो ।

कञ्चनपुरको भीमदत्त नगरपालिकाका ६ र बेदकोट नगरपालिकाका दुई जनामा पनि संक्रमण पुष्टि भएको सूचना अधिकारी श्रेष्ठले जानकारी दिए।

जिल्ला अस्पताल डोटीको प्रयोगशालामा पछिल्लो २४ घण्टामा १ सय ५ जनाको कोरोना परीक्षण गरिएकोमा ४० जनामा कोरोना पुष्टि भएको प्रयोगशाला इन्चार्ज शौरभ श्रेष्ठले जानकारी दिए ।

संक्रमण पुष्टि भएका सबै जना नेपाली सेनाका हुन् । दिपायल सिलगढी नगरपालिका- ४ सुल्लेकस्थित नेपाली सेनाको गुरुबक्स गणमा कार्यरत सेनामा कोरोना पुष्टि भएको स्वास्थ्य कार्यालय डोटीका कार्यालय प्रमुख रमेश मलासीले जानकारी दिए ।