देश

बुधबार कर्णालीमा थपिए ५१ संक्रमित, ३६ डिस्चार्ज

सुर्खेत, ३१ भदौ-कर्णालीमा बुधबार ५१ जना कोरोना भाइरस (कोभिड- १९) संक्रमित थपिएका छन् । प्रदेश अस्पताल सुर्खेत/पछुपन्छी अन्वेषण प्रयोगशाला सुर्खेत, जिल्ला अस्पताल दैलेख, चौरजहारी पीसीआर प्रयोगशाला रूकुमपश्चिममा गरिएको परीक्षणमा ५१ जना कोरोना संक्रमित थपिएको हुन्।

प्रदेश अस्पताल सुर्खेत/पछुपन्छी अन्वेषण प्रयोगशाला सुर्खेतमा गरिएको परीक्षणमा सल्यानका ३३ जना, सुर्खेतका १३ जना, दैलेख, जाजरकोट उदयपुरका एक/एक जना, जिल्ला अस्पताल दैलेखमा गरिएको परीक्षणमा दैलेखका एक जना र चौरजहारी पीसीआर प्रयोगशाला रूकुमपश्चिममा गरिएको परीक्षणमा एक जनामा कोरोना संक्रमण पुष्टि भएको कर्णाली प्रदेश सामाजिक विकास मन्त्रालयअन्तर्गत स्वास्थ्य सेवा महाशाखाका प्रमुख वृषबहादुर शाहीले बताए । योसँगै कर्णालीमा कोरोना संक्रमित हुनेको संख्या २ हजार ९ सय १४ पुगेको छ ।

बुधबार कर्णालीका विभिन्न आइसोलेसन सेन्टर र अस्पतालबाट ३६ जनामा कोरोना संक्रमण निको भएर डिस्चार्ज भएको महाशाखाका प्रमुख शाहीले बताए । ‘योसँगै कोरोना संक्रमण निको हुनेको संख्या २ हजार ६ सय ५ पुगेको छ,’ उनले भने, ‘हाल कोरोनाका सक्रिय बिरामीको संख्या ३ सय ३ रहेको छ ।’ कर्णालीमा कोरोनाका कारणले ६ जनाले ज्यान गुमाएका छन् ।