खेलकुद विदेश

बेल फर्काउने प्रयासमा इंग्लिस क्लब टोटेनह्याम

एजेन्सी, ३१ भदौ-इंग्लिस प्रिमियर लिग क्लब टोटनह्या वेल्सका फरवार्ड ग्यारेथ बेललाई रियल मड्रिडबाट पुनः अनुबन्धनको प्रयासमा जुटेको छ । बेललाई प्रिमियर लिग फर्काउन टोटेनहमले छलफल सुरु गरेको हो । टोटेनह्याम रियल मड्रिडका सर्जियो रेगुइलनलाई अनुबन्धन गर्ने तयारीमा छ ।

३१ बर्षका बेल सन् २०१३ मा विश्व कीर्तिमानी मूल्यमा टोटेनह्याम छाडेर रियल मड्रिड गएका थिए । बेल र रेगुइलन प्रिमियर लिग क्लब म्यान्चेष्टर युनाइटेडसँग समेत जोडिएका छन् । २३ वर्षका रेगुइलन युवा एकेडेमीबाट आएका खेलाडी हुन् । उनले सन् २०१८ को अक्टोबरमा सिनियर टिमबाट डेब्यु गरेका थिए ।

युनाइटेडले पनि बेल अनुबन्धनका लागि रियल मड्रिडसँग छलफल गरिरहेको छ । बेलको तलब सबैभन्दा ठूलो समस्याको रुपमा रहेको छ । रियलसँग उनको अझै २ वर्ष सम्झौता बाँकी छ । उनले रियलबाट साताको ६ लाख पाउण्ड पाउँछन् ।

सुरुवाती सिजनमा रियलमा सफल देखिएका बेल पछिल्लो समय करियरको कठिन अवस्थामा छन् । प्रशिक्षक जिनेदिन जिदानसँगको सम्बन्ध र उतार चढावमा देखिएको लयले उनलाई रियलमा पछिल्लो सिजन असफल बनाएको छ । सन् २०१९–२० को सिजन पुनः सुरु भएपछि उनले १ खेल मात्रै खेल्न पाएका थिए ।

Featured