देश

चारजनाविरुद्ध विशेष अदालतमा भ्रष्टाचारको मुद्दा दायर

बर्दिया, भदौ ५–अख्तियार दुरुपयोग अनुसन्धान आयोगले कर्णाली नदी व्यवस्थापन आयोजना, राजापुर बर्दियामा कार्यरत ३ जना इन्जिनियरसहित ४ जना विरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

योजनाअन्तरगत तारजालीमा ढुङ्गा भर्ने कामको विल रकम भुक्तानी गरे बापत सेवाग्राहीसँग १५ लाख रुपैयाँ घुस लिएको आरोपमा इन्जिनियरहरु कमलप्रसाद सिटौला, विश्वेश्वरप्रसाद शाह र हरीप्रसाद चौधरी तथा सवारी चालक टंकप्रसाद ओझाविरुद्ध आज विशेष अदालत काठमाडौमा मुद्दा दायर गरेको हो ।

चारै जनालाई १५ लाख रुपैयाँ बिगो कायम गरी बुधबार भ्रष्टाचारविरुद्ध मुद्दा दायर गरेको अख्तियार दुरुपायोग अनुसन्धान आयोगले जनाएको छ । बुधबारनै आयोगले मालपोत कार्यालय मनमैजु, काठमाडौंमा कार्यरत कार्यालय सहयोगी (पाँचौ तह) कान्छा भण्डारी र जग्गा कारोवारी ईश्वर के.सी.लाई ३५ हजार रुपैयाँ घुस सहित पक्राउ गरेको छ । बैंक तथा बित्तिय संस्थाहरूबाट ऋण दिने प्रयोजनको लागि जग्गा रोक्का राख्न सहज गरिदिने बहानामा ३५ हजार रुपैयाँ घुस लिँदै गर्दा उनीहरुलाई पक्राउ गरिएको अख्तियारले जनाएको छ ।