देश राजनीति

नेकपा स्थायी कमिटी बैठक आज

काठमाडौं, २६ भदौ-नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को स्थायी कमिटीको बैठक आज बस्दैछ । १३ साउनमा स्थगित भएको बैठक बिहान ११ बजे प्रधानमन्त्री निवास बालुवाटरमा बस्न लागेको हो । 

बैठकका लागि आवश्यक गृहकार्य पूरा भएको पार्टी महासचिव विष्णुप्रसाद पौडेलले जानकारी दिए । पार्टीका अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल (प्रचण्ड) को अध्ययनका लागि तयार पारिएको प्रस्ताव स्थायी कमिटीका सदस्यसम्म पुगिसकेको छ ।

महासचिव पौडेलका अनुसार अध्यक्षद्वय ओली र प्रचण्डले प्रस्तावलाई अध्ययन गरेर आफ्नो सुझाव लिखित वा मौखिक रूपमा बैठकमा प्रस्तुत गर्ने छन् ।

स्थायी कमिटीका सदस्यलाई पठाइएको प्रस्तावमा पार्टी एकताको महत्वलाई आत्मसात् गर्ने, पार्टीमा पद्धति र संस्थागत प्रणालीलाई सबल तुल्याउने, अध्यक्षद्वयको कार्यविभाजन तथा कार्याधिकार स्पष्ट गर्ने, पार्टी एकताका बाँकी काम सम्पन्न गर्नुपर्ने उल्लेख गरिएको छ ।

त्यस्तै एकताको राष्ट्रिय महाधिवेशन आयोजना गर्ने, सरकारको काम, संसदीय दलको भूमिका, प्रदेश सरकार र स्थानीय तहको भूमिका प्रभावकारी बनाउने प्रस्ताव गरिएको छ ।

त्यस्तै, प्रस्तावको तीन नम्बर बुँदामा पार्टीमा दुई अध्यक्षात्मक व्यवस्थाको प्रभावकारी कार्यान्वयन हुन नसक्दा शीर्ष नेतृत्व तहमा अविश्वास र अन्तरविरोध उत्पन्न हुने गरेकाले अध्यक्षद्वयको कार्यविभाजनलाई थप स्पष्ट पारिएको छ । प्रस्तावमा पार्टी विधानबमोजिम अध्यक्षद्वयको सहमति र महासचिवसँगको परामर्शमा सचिवालय, स्थायी कमिटी, पोलिटव्यूरो तथा केन्द्रीय कमिटी बैठकका कार्यसूची तयार गरी सम्बन्धित कमिटीको बैठकमा पेस गर्ने र तदनुरुप बैठक सञ्चालन गर्ने, सामूहिक नेतृत्व तथा व्यक्तिगत जिम्मेवारीको संस्थागत प्रणालीलाई अवलम्बन गर्ने र सबल बनाउने उल्लेख गरिएको छ ।

‘अध्यक्ष कमरेड केपी शर्मा ओलीले प्रतिनिधिसभाको यो कार्यकालभरी प्रधानमन्त्रीको जिम्मेवारीमा रहेर सरकारलाई नेतृत्व गर्ने र सरकारको काममा केन्द्रित हुने,’ प्रस्तावमा उल्लेख गरिएको छ, ‘अध्यक्ष कमरेड पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कार्यकारी अधिकारसहित पार्टीका बैठकहरूको सञ्चालन, निर्णयहरूको कार्यान्वयन र समग्र पार्टी कामको जिम्मेवारीमा केन्द्रीत हुने । अध्यक्षद्वयले पार्टी र सरकारबीचको कामलाई संस्थागत रूपमा अघि बढाउन समन्वय गर्ने ।’

पार्टीको आन्तरिक विवाद मिलाउन गत ३० साउनमा भएको छलफलबाट महासचिव विष्णु पौडेलको संयोजकत्वमा गठित ६ सदस्यीय कार्यदलले यही ६ भदौमा अध्यक्षद्वयलाई प्रतिवेदन बुझाएको थियो ।