मनोरंजन विदेश

कंगनालाई सुरक्षा दिने मोदी सरकारको निर्णय गलतः शिवसेना

एजेन्सी, २४ भदौ-शिवसेना पार्टी आफ्नो मुखपत्र ‘सामना’ मा प्रकाशित एक सम्पादकीयमार्फत बलिउड अभिनेत्री कंगना रनौतविरुद्ध खनिएको छ । बुधबार प्रकाशित भएको सो सम्पादकीयमा कंगनालाई देशद्रोही, बेइमान र मानसिक रुपमा विकृत भएको आरोप लगाएको छ ।

सामनामा लेखिएको छ, ‘जसले पाकिस्तान  प्रशासित काश्मिरसँग मुम्बई शहरको तुलना गरेर अपमान गरेको छ, उसलाई सुरक्षा उपलब्ध गराउने गृहमन्त्रालयको निर्णय दुर्भाग्यपूर्ण छ ।’

शिवसेनाले आफ्नो मुखपत्रमा लेखेको छ, ‘मुम्बईको तुलना पाकिस्तान प्रशासित काश्मिरसँग गर्नु र मुम्बई प्रहरीलाई माफिया बनेर खाकी बर्दीको अपमान गर्नु बिग्रिएको मानसिकताको लक्षण हो ।’

महाराष्ट्रका ११ करोड मराठी जनता र मुम्बईको अपमानको अर्थ देशद्रोह जस्तो अपराध प्रतीत हुन्छ । तर जब यस्तो अपराध गर्ने मानिससँग मोदी सरकारको गृहमन्त्रालय सुरक्षा कवच दिएर खडा हुन्छ भने हाम्रा १०६ सहिद आँसु बगाइरहेका होलान् ।’

सामनामा ‘यदि कोही व्यक्ति महाराष्ट्रका मुख्यमन्त्रीलाई चुनौती दिन्छ भने पुरै प्रदेश उसकाविरुद्ध उभिनुपर्छ । तर बीजेपी स्पष्ट रुपमा प्रदेश मुख्यमन्त्रीको अपमान गर्ने व्यक्तिका पक्षमा उभिएको छ’ भनिएको छ ।

शिवसेनाले मुम्बई शहरको अपमान मुम्बईकी देवी मुम्बा देवीविरुद्ध बोल्नुजस्तै भएको दाबी पनि गरेको छ । शिवसेनाले भाजपा सरकारलाई चीनको मुद्दामा ध्यान दिन आग्रह गर्दै महाराष्ट्रका मुख्यमन्त्री र सरकारविरुद्ध बोल्नेका पक्षमा नउभिन समेत भनेको छ ।

Featured