देश

बि एण्ड बि अस्पतालमा आरथ्रोस्कोपी, स्पोर्ट्स इन्जुरी तथा रिजेनेरटिभ मेडिसिन सेन्टर स्थापना

काठमाडौं, भदौ ४–बि एण्ड बि अस्पतामा आरथ्रोस्कोपी, स्पोर्टस इन्जुरी तथा रिजेनेरटिभ मेडिसिन सेन्टरको स्थापना भएको छ । १ भदौबाट सञ्चालनमा आएको उक्त सेन्टर वरिष्ठ चिकित्सक प्राध्यापक डा अशोक कुमार बाँस्कोटाको नाममा स्थापना गरिएको हो । सेन्टर सञ्चालनको प्रमुख उद्देश्य आरथ्रोस्कोपी, स्पोर्ट्स इन्जुरी तथा रिजेनेरटिभ मेडिसिनमा अत्याधुनिक सेवा प्रदान गर्ने रहेको अस्पतालले जनाएको छ ।

उक्त सेन्टरमा डा. ईश्वर प्रधान, प्रा. डा. अमित जोशी, डा. नागमणि सिंह तथा डा. विवेक बासुकलाको समूहले सेवा प्रदान गर्ने छन् । आरथ्रोस्कोपी भनेको शरीरको जोर्नीमा सानो प्वाल पारेर त्यस प्वालको माध्यमबाट दूरविन छिराई जोर्नीको जाँच तथा उपचार गर्ने प्रविधि हो ।

प्राध्यापक डा अमित जोशीका अनुसार नेपालमा कुम र घुँडाको ओरथ्रोस्कोपी क्रमिक रुपमा बढ्दै गए पनि, कुहिनो, नाडी, तिघ्राको जोर्नी,गोलिगाँठो जोर्नीको आरथ्रोस्कोपी भने कमै ठाउँमा मात्र हुन्छ ।

डा जोशीका अनुसार स्पोर्ट्स इन्जुरी भन्नाले खेलकुदसम्बन्धी चोट पटक मात्र भन्ने आम धारणा रहेको छ । ५ वर्षमा अस्पतालमा आउने बिरामीमध्ये धेरैलाई खेलबाहेक अन्य कारणले लिगामेन्टहरुमा चोट लागेको पाइएको उनले बताए ।

दुर्घटनामा परी, हात खुट्टा मर्केर, दैनिक ब्यायामको समयमा चोट लागेर जोर्नी अस्वाभाविक रुपमा सर्दा लिगामेन्टमा समस्या देखिनेहरुको संख्या बढ्दै गएको जोशी बताउँछन् ।

डा विवेक बासुकलाका अनुसार भौगोलिक विकटताको कारण उकालो ओरालो तथा अप्ठ्यारा बाटोहरु हिँड्नु पर्दा, काम गर्दा, भारी बोकी हिँड्दा लिगामेन्टमा चोट लाग्ने सम्भावना हुन्छ । डा. नागमणि सिंहका अनुसार दुर्घटना हुनेमध्ये मोटरसाइकल दुर्घटनामा परी लिगामेन्टमा चोट लाग्नुको प्रमुख कारण बनेको छ ।

अस्पतालमा नयाँ रेजेनेरटिभ चिकित्सा सेवा पनि थप गरिएको छ । रेजेनेरटिभ मेडिसिनअन्तर्गत अहिले पी आर पी थेरापी सञ्चालनमा आइसकेको र भविष्यमा स्टेम सेल तथा अन्य थेरापीहरु पनि थपिँदै जानेबारे डा. ईश्वर प्रधानले जानकारी दिए ।

Featured