देश

भारतमा स्थिर सरकार हुनु भनेको नेपाललाई फाइदा हुनु हो : कोमल वलीे

काठमाडौं, भदौ ४–सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) सांसद कोमल वलीले भारतमा स्थिर सरकार हुँदा नेपाललाई फाइदा हुने बताएकी छिन् । भारतीय विदेश मन्त्री एस जयशंकर नेपाल भ्रमणमा आएको दिन पारेर बुधबार राष्ट्रियसभा बैठकको विशेष समयमा बोल्दै वलीले भारतको प्रशंसासहित यस्तो बताएकी हुन् ।

सो अवसरमा उनले भारत र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको प्रशंसा गरेकी छन् । भारत हाम्रो ठूलो व्यापारिक सम्बन्ध रहेको देश हो र तेस्रो मुलुकसँग व्यापारिक ट्रान्जिट सुविधा प्रदान गरिरहेको मित्रराष्ट्र पनि हो भन्दै उनले भारतको मुक्तकण्ठले प्रशंसा गरेकी हुन् ।

वलीले भारत र मोदीसँगको व्यवहारमा दलहरुले आफू सत्ता पक्षमा छुं कि प्रतिपक्षमा छु भनेर सोच्न नहुने प्रष्ट पारिन् । उनले प्रतिपक्षलाई हिजो सत्तामा हुँदाको जस्तो राष्ट्रिय हित, छिमेकप्रतिको विश्वास कायम गर्ने सोच कायम राख्न सुझाव दिइन् ।

प्रतिपक्षमा हुने बित्तिकै छिमेकी देशको सरकारलाई आशंका गर्ने, राजनीतिक रुपमा अविश्वास प्रदान गर्ने खालको सन्देश दिनु हुँदैन भन्दै उनले भारतमा स्थिर सरकार हुनु भनेको नेपाललाई फाइदा हुनु हो, बलियो भारतले मात्र नेपालको हितको रक्षा गर्न सक्ने बताइन् । भारत या चीन, बलिया छिमेकीले मात्र नेपालजस्तो देशको हित गर्न सक्ने उनको भनाइ थियो ।