देश

ई–टिकेटिङ लागू नगर्ने व्यवसायीमाथि कारबाही हुने

पोखरा, भदौ ४–पोखरामा स्मार्ट सिटीको अभियानस्वरुप यात्रुबसमा ई–टिकेटिङ सिस्टम लागू नगर्ने व्यवसायीलाई कारबाही हुने भएको छ । यात्रु र व्यवसायीको हितको लागि ल्याइएको उक्ता पद्धति लागू नगरे महानगरपालिकाले जरिवाना भराउने भएको हो ।

आगामी भदौ १६ गतेसम्म बसमा सो प्रविधि जडान नगरे अनुमतिपत्रसमेत खारेज हुनसक्ने महानगरले जनाएको छ । पोखरा क्षेत्रमा सञ्चालन हुने ८ यातायात समितिका बसहरुले ई–टिकेटिङ सिस्टम जडान गर्नुपर्ने छ ।

महानगरपालिका, जिल्ला प्रशासन कार्यालय, जिल्ला प्रहरी कार्यालय र यातायात व्यवसायीबीच भएको बैठकले १६ भदौसम्म पनि ई–टिकेटिङ पद्धति सुरु नभए अनुमति पत्रनै खारेज गर्ने निर्णय गरेको बैठकमा सहभागी अमृत शर्मा तिमिल्सिनाले जानकारी दिए । व्यवसायीहरुले भने भदौं ६ गतेभित्रै ई(टिकेटिङ सुरु हुने दावी गरेका छन् । पोखराका ५ सय बसमा ई(टिकेटिङका लागि डिभाइस जडान भइसकेको छ ।