NRNA खबर देश विदेश

म्यानमारबाट प्रतिनिधित्व गरेकी खतिवडा बनीन् ‘ग्लोबल स्पीच कन्टेस्ट’ को बिजेता

मस्को, साउन २६–अभिलाषा खतिवडा ‘एनआरएनए ग्लोबल स्पीच कन्टेस्ट’ को बिजेता बनेकी छन् । म्यानमारबाट प्रतिनिधित्व गरेकी खतिवडा प्रतिष्पर्धीहरुलाई पछि पार्दै विजेता बनेकी हुन् । १९ वर्षमुनीका नेपाल बाहेक विदेशमा स्थायी बसोबास गर्ने अभिभावकका बालबालिकाबीच भएको प्रतियोगितामा उनले बिजेता बन्दै एक लाख रुपैयाँ नगद सहित प्रमाणपत्र हात पारेकी छन् ।

प्रतियोगितामा रसियाबाट प्रतिनिधित्व गर्ने समिरा केसी दोस्रो भएकी छन् । उनले साठी हजार रुपैयाँ नगदसहित प्रमाणपत्र प्राप्त गरिन् । यूकेबाट प्रतिनिधित्व गरेकी टिया आचार्य तेस्रो बन्न सफल भइन् । उनी ९ वर्ष भन्दा कम उमेर समुहकी हुन् । आचार्यले नगद चालीस हजार र प्रमाणपत्र प्राप्त गरेकी छन् ।

त्यस्तै अस्ट्रियाबाट प्रतिनिधित्व गर्ने कुञ्जन बोहराले ‘राइजिङ स्टार’ र १३ वर्षभन्दा मुनीका ‘लिटल मास्टर’ को टाइटल अस्ट्रियाकै दिब्या ढकालले उपाधी हात पार्न सफल भइन् । उनीहरु दुवैले नगद तीस/तीस हजार र प्रमाणपत्र प्राप्त गरेका छन् ।

नाइजेरियाका सुहिम थापा र साउदी अरवबाट प्रतिनिधित्व गरेकी जस्मिन सैयाद चौथो स्थान हासिल गर्न सफल भए । थाइल्याण्डबाट प्रतिनिधित्व गरेका दंग तिमिल्सीनाले पाँचौ स्थानमा चित्त बुझाएका छन् । उनीहरु तीनै जनाले सान्त्वना स्वरुप बीस/बीस हजार नगदसहित प्रमाणपत्र प्राप्त गरे ।

गैर आवासिय नेपाली संघ एसिया प्याशिफिक युवा कमिटिको आयोजना, एनआरएनए एसिया प्याशिफिक तथा एसिया प्याशिफिकका सबै एनसिसीको सक्रियतामा सम्पन्न प्रतियोगितामा विश्वका २९ देशबाट ६१ जना प्रतियोगी सहभागि भएका थिए । ‘राष्ट्रको लागि मेरो सपना’ शीर्षकमा नेपाली र अंग्रेजी दुवै भाषामा प्रतियोगिता आयोजना गरिएको थियो ।

प्रतियोगितामा अमेरिका, यूके, अष्ट्रेलिया, बहराइन, बोस्वाना, क्यानाडा, चीन, हङकङ, आइरल्याण्ड, इटाली, जापान, केन्या, मकाउ, मलेसिया, मोरोक्को, म्यानमार, नाइजेरिया, पोर्चुगल, कतार, रसिया, साउदी अरब, सिंगापुर, कोरिया, स्पेन, थाइल्याण्ड, युएई , अष्ट्रीया, आयरल्याण्ड र स्कटल्याण्डबाट प्रतिनिधित्व रहेको थियो ।

अनलाइन मिटिङ एप जुम मार्फत (अडियो/भिडियो) मा भएको प्रतियोगितामा हाँस्यकलाकार सन्दिप क्षेत्री, साहित्यकार प्रकाश सायमी, पूर्व मिस नेपाल सदीक्षा श्रेष्ठ र सञ्चारकर्मी समा थापा निर्णयक मण्डलमा रहेका थिए । त्यस्तै, कार्यक्रममा संचारकर्मीहरु भूषण दाहाल र रवि लामिछाने विशेष अतिथिको रुपमा सहभागि भएका थिए ।

आयोजक कमिटी तथा एनआरएन एसिया प्याशिफिक कमिटिका संयोजक दिपक कँडेलले स्वागत गर्दै सुरु गरिएको कार्यक्रममा एनआरएनका पूर्व अध्यक्ष भवन भट्ट, वर्तमान अध्यक्ष कुमार पन्तले विदेशमा रहेका दोस्रो पुस्तालाई नेपालसँग जोड्न सोही प्रकारका कार्यक्रमहरुसमेत नियमित गर्नुपर्नेमा जोड दिए ।

कार्यक्रममा एनआरएनए आइसिसी उपाध्यक्ष सोनाम लामा, महिला उपाध्यक्ष रविना थापा, युवा संयोजक हिमाल गुरुङ, एसिया प्याशिफिक संयोजक रोविन्द श्रेष्ठ (गोविन्द ), उप–संयोजक खगेन्द्र न्यौपाने, एसिया प्याशिफिक क्षेत्रीय महिला संयोजक कञ्चन थापा (अमृता ) ले शुभकामना व्यक्त गरेका थिए ।

कार्यक्रममा कोरियाबाट विज्ञ तथा सल्लाहकार डा. देवी बस्नेत, चीनका अध्यक्ष प्रदिप न्यौपानेलगायत सहभागि थिए । कार्यक्रम एनआरएनए एसिया प्याशिफिक क्षेत्रीय संयोजक रोविन्द श्रेष्ठ (गोविन्द ) ले धन्यवाद ज्ञापन गर्दै सम्पन्न गरेका थिए । कार्यक्रम एनआरएनए एसिया प्याशिफिक उप–संयोजक पारसमणी पोखरेलले सञ्चालन गरेका थिए ।

कार्यक्रम काठमाडौं स्थित एनआरएनए केन्द्रीय कार्यालय बालुवाटार र जापानको टोकियो स्थित एक हलबाट एकसाथ जुम मार्फत प्रत्यक्ष प्रसारण गरिएको थियो । जापानको सो कार्यक्रममा आईसिसी कोषाध्यक्ष महेश श्रेष्ठ, आईसिसी सदस्य ईन्दिरा सुजुकी र डिपी कँडेल, एनआरएन जापानका अध्यक्ष देवीलाल भण्डारी, वरिष्ठ उपाध्यक्ष अनीता गुरुङं, कोषाध्यक्ष कालीका थापा, महासचिव जनकविक्रम शाही, प्रवक्ता सिद्धार्थ श्रेष्ठ, एसिया प्याशिफिक भाषा तथा साहित्य संयोजक बेलुकाजी थापा, प्राविधिकतर्फ एनआरएन जापानका उपाध्यक्ष नारायण खडका, कार्यक्रम सञ्चालक सृजना पाण्डे (ज्ञवाली ), प्रथम पुरस्कारको प्रायोजक दिपवेय फाउन्डेसनका सञ्चालक दिपक सुवेदी, बिहुकोट समाज जापानका सस्थापक अध्यक्ष ऋषीराम कंडेल र चितवन जापान समाजका अध्यक्ष राजनकुमार श्रेष्ठ सहभागि थिए । यता एनआरएन सचिवालयमा प्राविधिकतर्फ महेश श्रेष्ठले सहयोग गरेका थिए ।

सो प्रतियोगितामा गैर आवासीय नेपाली संघका संस्थापक अध्यक्ष डा. उपेन्द्र महतो, पूर्वअध्यक्षहरु जीवा लामिछाने, देवमान हिराचन, शेष घले, भवन भट्ट तथा वर्तमान अध्यक्ष कुमार पन्तले दोस्रो पुस्तालाई प्रोत्साहन गर्ने उद्देश्यले भिडियो सन्देश पनि पठाएका थिए ।

एसिया प्याशिफिक युवा कमिटीका संयोजक दीपक कँडेलका अनुसार प्रतियोगताका विजेतालाई सम्बन्धीत एनसिसीमार्फत एक कार्यक्रम आयोजना गरि पुरस्कार वितरण गरिनेछ ।

Featured