देश

जनकपुर अस्पतालको लापरबाहीका कारण मृत्यु भएको भन्दै प्रदर्शन

जनकपुर, भदौ ३–जनकपुर अस्पतालको लापरबाहीका कारण २१ वर्षीय कुन्दन झाको मृत्यु भएको भन्दै दोषीमाथि कारबाहीको माग गर्दै विद्यार्थीले प्रदर्शन गरेका छन् ।

जनकपुरमा डेफोडिल्स बोर्डिङ स्कुलका विद्यार्थीहरुले स्कुलको प्रांगणबाट विरोध जुलुस निकाल्दै जनकपुर अस्पतालसम्म प्रदर्शन गरेका हुन् । उनीहरुले पटक–पटक अस्पतालको लापरवाहीले सर्वसाधारणको अकालमै ज्यान गरेको भन्दै कुन्दन मृत्यु घटनाको निष्पक्ष छानविन गरी दोषीमाथि कडा कार्वाही गर्न माग गरेका छन् ।

उपचारमा लापरवाही गर्ने चिकित्सकहरुलाई कार्वाहीको माग गर्दै अस्पतालविरुद्ध उनीहरुले प्रदर्शन गरेका हुन् । सामान्य पेट दुखेपछि गत शनिवार राति अस्पतालमा भर्ना भएका कुन्दनको आइतबार विहान मृत्यु भएको थियो । समयमा ल्याबले रिपोर्ट नदिँदा र चिकित्सकले उपचार नगर्दा कुन्दनको मृत्यु भएको परिवारजनको आरोप छ । कुन्दन डेफोडिल्स स्कुलका शिक्षक हुन् ।