देश

१४ सय बढी नेपाली स्वदेश फर्किए

काठमाडौं, २२ साउन-त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा आज आवागमन र प्रस्थान दुवैगरी १२ अन्तर्राष्ट्रिय चार्टर्ड उडान भएका छन् । यी उडानमार्फत १ हजार ४६६ नेपाली स्वदेश फर्किएको विमानस्थल कार्यालयले जनाएको छ ।

कोभिड–१९ महामारीका कारण विदेशमा अलपत्र परेका नेपालीको विभिन्न एयरलाइन्सले उद्धार चार्टर्ड उडानमार्फत उनीहरूलाई स्वदेश फर्काएको हो । नेपाल एयरलाइन्सले साउदी अरेबियाको दमामबाट १५४ र दमामबाट २ उडानमा क्रमशः २५९ र १४४ यात्रु काठमाडौं ल्याएको छ  । थप नेपालीको उद्धारका लागि नेपाल एयरलाइन्सको जहाज रियाद र दुबई प्रस्थान गरेको विमानस्थलले जनाएको छ ।

यस्तै, हिमालय एयरलाइन्सले दमामबाट १५४ र कतारको दोहाबाट १५७ यात्रु तथा २ शव नेपाल ल्याएको छ । एयर अरेबियाले सारजाहाबाट २ उडानमार्फत क्रमशः १६८ र १६६ यात्रुको उद्धार गरी काठमाडौं ल्याएको छ । मालिन्दो एयरले मलेसियाको क्वालालम्पुरबाट १७८, फलाई दुबईले दुबईबाट १६४ र टर्किस एयरलाइन्सले ७६ यात्रु ल्याएको छ । शुक्रबार पनि विभिन्न देशबाट नेपालीको उद्धारका लागि आगमन र प्रस्थान दुवै गरी १४ चार्टर्ड उडान हुने विमानस्थलले जनाएको छ ।