देश

सुर्मा गाउँपालिकामा नेकपाले लगाएको ताला सीडीओको निर्देशनमा काटियो

बझाङ, २२ साउन-नेपाल कम्युनिष्ट पार्टी (नेकपा) सुर्मा गाउँ कमिटीले सुर्मा गाउँपालिका कार्यालयमा तालबन्दी गरेको छ । गाउँपालिका कार्यकर्तामुखी योजना बाँडफाँड गरेको, विपदमा परेका जनतालाई क्षतिपूर्ति नदिएको, प्रतिपक्षसँग छलफलमा नबस्ने गरेको लगायतका कारण खुलाई ज्ञापनपत्रसहित नेकपाले गाउँपालिका कार्यालयमा तालाबन्दी गरेको हो ।

विगतदेखि नै सुर्मा गाउँपालिकालाई योजना बाँडफाँड, जनताका समस्या, पूर्वाधार निर्माण, चैनपुर-सुर्मा सडक स्तरउन्नति, सडक विस्तार गर्दा जथाभावी डोजर चलाएको लगायत गतिविधिबारे जानकारी गराउँदा पनि गाउँपालिकाले अटेरी गरेकोले तालाबन्दी गर्नुपरेको नेकपाको भ्रातृ संगठन अनेरास्ववियु जिल्ला कमिटी सचिवालय सदस्य सुबास बोहरा बताए ।

यस्तै, नेकपाले सुर्मा २ का पटुरी, विसौना र दिपचौरको समस्या लिएर गाउँपालिकामा गएको भए पनि कुनै सुनुवाई नगरी उल्टै ‘खानेपानी निमार्ण गर्न सकिदैन जे गर्न मन छ गर’ भनेर गैरजिम्वेवारी ढंगले जवाफ दिने गरेको उनको भनाइ छ ।

यसैबीच नेकपाले लगाएको ताला गाउँपालिका अध्यक्ष नरबहादुर बोहराको निर्देशनमा केहीबेरमै काटिएको छ । अध्यक्ष बोहराले विनाछलफल, विनाजानकारी मुचुल्का नगरी ताला काट्न निर्देशन दिएको नेरास्ववियु जिल्ला कमिटी सचिवालय सदस्य सुबास बोहराले आरोप लगाए । सदस्य बोहराले यसरी गाउँपालिका अध्यक्षले प्रतिपक्षको विज्ञप्तिको वास्ता नगरेकाले प्रदर्शनमा उत्रने बताए ।

तर, यता गाउँपालिका नरबहादुरले भने ताला लगाएपछि प्रहरीसहित आफूहरू दिनभर गाउँपालिका कार्यालय अगाडि बसेको र नेकपा पक्षलाई बोलाउँदा नआएकोले प्रमुख जिल्ला अधिकारी कमलराज भण्डारीको निर्देशनमा प्रहरीद्वारा मुचुल्का उठाएर ताला काटिएको बताए । गाउँपालिका अध्यक्ष बोहराले तालाबन्दीपछि बोलाउँदा नेकपा पक्षधरले मोबाइलसमेत स्वीच अफ गरेको आरोप लगाए ।