देश

कञ्चनपुरमा लागुऔषध ब्राउन सुगरसहित ५ जना पक्राउ

डडेल्धुरा, २२ साउन-कञ्चनपुरमा लागुऔषध ब्राउन सुगरसहित ५ युवायुवती पक्राउ परेका छन् । जिल्लाको भीमदत्त नगरपालिका–१२ मा रहेको पूर्णा माध्यामिक विद्यालयको परिसरबाट उनीहरू पक्राउ परेका हुन् । 

स्कुलको कम्पाउन्डको पर्खाल नाघेर उनीहरूले विद्यालयभित्र लागूपदार्थ सेवन गरिरहेका बेला पक्राउ गरिएको वडाअध्यक्ष कृष्णसिंह देउवाले बताए ।

विद्यालय हातामा शंकास्पद गतिविधि बढेपछि केही दिनयता वडा कार्यालयले निगरानी बढाएको र बिहीबार फेरि त्यो समूह आएपछि प्रहरीको सहयोगमा उनीहरूलाई पक्राउ गरिएको वडाअध्यक्ष देउवाले बताए ।

समूहमा रहेकी युवतीले आफूसँग रहेका ४ थान लाइटर, चुरोटको बट्टा र प्लास्टिकमा रहेको ब्राउनसुगर भुइँमा फालेर भागेकी थिइन् ।उनीहरूलाई स्थानीयले समातेर प्रहरीको जिम्मा लगाएका थिए । पक्राउ परेका पाँचै जनालाई जिल्ला प्रहरी कार्यालय लगिएको छ। घटनासम्बन्धी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।