देश

जिल्ला प्रशासन कार्यालय सुर्खेतका सबै सेवा बन्द

काठमाडौं, २२ साउन-कोरोना भाइरस संक्रमणको जोखिम बढेको भन्दै जिल्ला प्रशासन कार्यालय सुर्खेतले सबै सेवा बन्द गरेको घोषणा गरेको छ । जिल्ला प्रशासन कार्यालयले सूचना जारी गर्दै कोरोना भाइरसको संक्रमण फैलिन नदिन सभा, गोष्ठी, सेमिनार, तालिम, जात्रा महोत्सवमा रोक लगाइए पनि सरकारी सेवा प्रवाह गर्दा अत्यधिक भीड जम्मा भएर संक्रमणको खतरा बढेको भन्दै सबै सेवा रोक्ने जनाएको छ । 

जसअनुसार नागरिकता, राहदानी सिफारिस, संघसंस्था दर्ता, नवीकरण र अन्य सिफारिससमेतका सबै सेवा २५ साउनदेखि बन्द गरिने भएको छ ।

यसअघि २० साउनमा जिल्ला  कोरोना संकट व्यवस्थापन केन्द्रले निर्णय गरी कोरोना संक्रमणको जोखिमलाई मध्यनजर गर्दै सभा, सम्मेलन, तालिम, गोष्ठी, जात्रा, महोत्सवमा रोक लगाएको थियो ।