विदेश

लेबनानमा विस्फोट : मृतकको संख्या १३५ पुग्यो, ४ हजारभन्दा बढी घाइते

एजेन्सी, साउन २१-लेबनानको राजधानी बेरुतको प्रमुख बन्दरगाहमा मंगलबार भएको शक्तिशाली विस्फोटमा परी ज्यान गुमाउनेको संख्या १ सय ३५ पुगेको छ ।करिब २ हजार ७५० टन ‘एमोनियम नाइट्रेट’ नामक रासायनिक पदार्थ भण्डारण गरेको एक गोदाम घरमा भएको यस विस्फोटनमा परी ४ हजारभन्दा बढी घाइते भएका बताइएको छ ।

यस गोदाममा सन् २०१४ मा एक कार्गो जहाजबाट बरामद गरिएको ‘एमोनियम नाइट्रेट’ भण्डारण गरिएको थियो । लेबनानका गृहमन्त्री मोहम्मद फाहमीले सो गोदाममा एमोनियम नाइट्रेट राखिएकाले त्यो विस्फोट शक्तिशाली हुन पुगेको र यसले ठूलो क्षति पुर्‍याएको बताएका थिए ।

लेबनानका प्रधानमन्त्री हासान डीयाबले यस विस्फोटलाई देशको ठूलो विपत्ति भएको बताएका छन् । उनले यस विषयको अनुसन्धान सुरु भइसकेको र दोषीहरूलाई जवाफदेही बनाइनुपर्ने बताए ।

गोदाममा राखिएको एमोनियम नाइट्रेटको अवस्था बारेमा जाँचबुझ गरी ५ महिनाअघि नै लेबनान सरकारलाई प्रतिवेदन बुझाइएको पनि सञ्चारमाध्यमले जनाएका छन् । प्रतिवेदनमा एमोनियम नाइट्रेटको भण्डारमा सुरक्षा सतर्कता अति जरुरी रहेको औँल्याइएको थियो ।

Featured