विदेश

लेबनान विस्फोटमा १ सयभन्दा बढीको मृत्यु, ४ हजारभन्दा बढी घाइते

एजेन्सी, साउन २१-लेबनानको राजधानी बेरुतको प्रमुख बन्दरगाहमा मंगलबार शक्तिशाली विस्फोटन भएको छ । सो विस्फोटनमा परी १ सयभन्दा बढीको ज्यान गएको छ । करिब २ हजार ७ सय ५० टन ‘एमोनियम नाइट्रेड नामक रासायनिक पदार्थ भण्डारण गरेको एक गोदामघरमा भएको यस विस्फोटमा परी ४ हजारभन्दा बढी घाइते भएका छन् ।

यस गोदाममा सन् २०१४ मा एक कार्गो जहाजबाट बरामद गरिएको ‘एमोनियम नाइट्रेड भण्डारण गरिएको थियो । सो विस्फोट निकै टाढासम्म सुुनिएको त्यहाँका स्थानीयवासीले जनाएका छन् । अहिले पनि सो विस्फोटपछि धुवाँ उडेका तस्वीरहरू त्यहाँका सञ्चारमाध्यमहरूले दिइरहेका छन् ।

ती तस्वीरहरू हेर्दा अवस्था निकै क्षतविक्षत् देखिएको छ । विस्फोटनपछिका अनलाइनमा राखिएका भिडियाेहरूमा धुवाँको विशाल मुस्लो देखिएको छ र यहाँ धेरै क्षति भएका भौतिक संरचनाको अवस्था पनि देखिएको छ

त्यस गोदाममा कुनै बाह्य आक्रमण भएका कारण यो विस्फोट भयो कि आफैँ विस्फोट हुन पुगेको हो भन्ने कारण पत्ता लगाउन अनुसन्धान सुरु गरिएको छ ।

लेबनानका गृहमन्त्री मोहम्मद फाहमीले सो गोदाममा राखिएको एमोनियम नाइट्रेट राखिएकाले त्यो विस्फोट शक्तिशाली हुन पुगेको र यसले ठूलो क्षति पुगेको बताए ।

लेबनानका प्रधानमन्त्री हासान डियाबले यस विषयको अनुसन्धान सुरु भइसकेको र दोषीहरूलाई जवाफदेही बनाइनुपर्ने बताए । उनले एक टेलिभिजनमा सम्बोधन गर्दै यस घटनामा संलग्नहरूलाई कडा कारबाही गरिने र उनीहरूलाई उम्किन नदिइने बताए ।

गोदाममा राखिएको एमोनियम नाइट्रेटको अवस्थाका बारेमा जाँचबुझ गरी ५ महिनाअघि नै लेबनान सरकारलाई प्रतिवेदन बुझाइएको पनि संचारमाध्यमहरूले जनाएका छन् । प्रतिवेदनमा एमोनियम नाइट्रेटको भण्डारमा सुरक्षा सतर्कता अति जरुरी रहेको औंल्याइएको थियो ।

Featured