देश

सीमाक्षेत्रबाट स्रोत नखुलेको १६ लाख रुपैयाँसहित १ जना पक्राउ

बुटवल, २० साउन-नेपाल-भारत सीमाक्षेत्रनजिकबाट स्रोत नखुलेको १६ लाख नेपाली रुपैयाँसहित १ जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा मायादेवी गाउँपालिका-१, पकडीका ३६ वर्षीय विनोद सोनार रहेको सशस्त्र प्रहरी निरीक्षक सन्तोष देवकोटाले बताए ।

भारतबाट नेपाल आउँदै गर्दा मायादेवी गाउँपालिका- ४, ठकुरापुर गोब्ली बगैँचास्थित सीमाक्षेत्रमा सो रकमसहित सोनारलाई पक्राउ गरिएको हो । विशेष सुराकीका आधारमा सोनारउपर निगरानी गर्दा सो रकम बरामद भएको सशस्त्र प्रहरीले जनाएको छ ।

पक्राउ परेका सोनारको साथबाट १ हजार दरका १ सय थानका १२ गड्डी र ५ सय दरका १ सय थानका ८ गड्डी नेपाली रुपैयाँ बरामद भएको हो । पक्राउ परेका सोनार र १६ लाख रुपैयाँ सुठौली भन्सार कार्यालयमा बुझाइएको प्रहरी निरीक्षक देवकोटाले बताए ।

सुनको अवैध कारोबार गर्न र नेपालतर्फबाट सुन भारततर्फ तस्करी गर्नका लागि सो रकम ओसारपोसार हुँदै गरेको हुन सक्ने आशंका गरिएको छ । नेपालबाट भारततर्फ सुन तस्करी गर्न तस्करहरूले ट्रान्जिट पोइन्टका रूपमा कपिलवस्तु जिल्ला प्रयोग गर्ने गरेको सुरक्षाकर्मीहरूको भनाइ छ ।

Featured