देश

कैलालीमा स्वास्थ्यकर्मी, चौकीदार र भान्छेमा कोरोना पुष्टि

डडेल्धुरा, २० साउन-कैलालीमा स्वास्थ्यकर्मीसहित क्वारेन्टाइनमा कार्यरत चौकीदार र भान्छेमा पनि कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । जिल्लाको कैलारी गाउँपालिकास्थित क्वारेन्टाइनमा कार्यरत १ जना स्वास्थ्यकर्मीसहित चौकीदार र भान्छेलाई संक्रमण पुष्टि भएको हो ।

मङ्गलबार गरिएको कोरोना परीक्षणमा वडा १ को हसुलियास्थित दीपेन्द्र माध्यमिक विद्यालयमा बनाइएको क्वारेन्टाइनमा कार्यरत १/१ जना स्वास्थ्यकर्मी, चौकीदार र भान्छेलाई कोरोना भाइरस संक्रमण पुष्टि भएको हो ।

विद्यालयको क्वारेन्टाइनमा कार्यरत ल्याबको काम गर्ने १ जना स्वास्थ्यकर्मी, साे विद्यालयका चौकीदार र क्वारेन्टाइनमा बसेकाहरूका लागि खाना पकाउने व्यक्तिलाई कोरोना संक्रमण भएको गाउँपालिकाका स्वास्थ्य संयोजक वीरेन्द्र सापकोटाले जानकारी दिए ।

स्वास्थ्य संयोजक सापकोटाका अनुसार स्वास्थ्यकर्मीसहित क्वारेन्टाइनमा काम गर्ने व्यक्तिहरूमा कोरोना संक्रमण पुष्टि भएपछि उनीहरूको ‘कन्ट्याक्ट’ मा आएका कर्मचारी, परिवारका सदस्य र अन्य स्थानीयको पनि स्वाब परीक्षणका लागि संकलन गरिने भएको छ ।

‘संक्रमण पुष्टि भएका स्वास्थ्यकर्मी १ दिन घर पनि गएका रहेछन् । उनको सम्पर्कमा केही स्थानीय व्यक्ति पनि आएका छन्,’ उनले भने, ‘आइसोलेसनमा राखिएका सम्पूर्ण संक्रमितलाई निको बनाएर घर पठाएपछि अन्त्यमा कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएको हो ।’ कैलारी गाउँपालिकामा मंगलबार ७ जनामा कोरोना सक्रमण पुष्टि भएको छ ।

Featured